काठमाडौँ, जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय छानबिन समिति गठन नभएसम्म संसद् सञ्चालन हुन नसक्ने बताएका छन् ।
उनले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले संसद्मा सम्बोधन गरेपछि पनि कांग्रेसको उही अडान रहेको बताए ।
आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै लामिछानेले आफूमाथि लगाइएको आरोप गलत भएको र त्यसबारे कुनै उजुरी समेत नपरेको दाबी गरेका थिए ।
लगत्तै पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले संसदीय छानविन समिति गठन नभएसम्म कांग्रेसले संसद् सञ्चालन हुन नदिने बताए ।
'अस्तिदेखि उनले संसद्मा बोल्न दिनुपर्यो भन्दै आउनुभएको थियो । हामीले बोल्न नदिएको होइन,' उनले भने, 'आज उनले बोले। तर उनी छानबिनबाट डराएका छन ।
गृहमन्त्री पदमा बसेर हामीलाई छानबिन गर्छु भन्ने धम्क्याउन खोज्नुभएको छ । तर मेरो आग्रह छ कि उहाँ नै गृहमन्त्री भएका बेला मेरोबारेमा पनि छानबिन गर्ने समिति बनाइदिनुस् ।
के - के छानबिन गर्ने हो ? क-कसलाई भ्रष्टाचारको मुद्दा लगाउने हो ? सबै गर्नुहोस् । तर सहकारीको रकम अपचलनमा तपाईको संलग्नता देखिएको छ । तपाई गृहमन्त्री हुने बित्तिकै प्रहरीले अनुसन्धान रोकेको छ ।
मुद्दाको अनुसन्धानको फाइलमा पानापिच्छे नाम छ, तर प्रहरीले अभियोजन गरेको छैन । एकपटक सोधेको छैन । तपाईकै जस्तै कसुरमा राप्रपाका सांसद गीता बस्नेत अहिले हिरासतमा हुनुहुन्छ ।
त्यसकारण तपाईमाथि पनि छानबिन हुनुपर्छ । संसदीय छानबिन समिति बनाउनुपर्छ । त्यो समितिले सबैभन्दा पहिले तपाईकै विषयमा छानबिन गर्छ ।'
उनले कांग्रेसले संसद्लाई बन्धक बनाउन नचाहेको दाबी गरे । उनले संसद् सञ्चालन गर्न दिने वा नदिने भन्नेबारे सत्ता पक्षले निर्णय दिनुपर्ने बताए ।