२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मौसम विज्ञान विभाग भन्छ

पश्चिमी र स्थानीय वायुको प्रभाव  : देशका केही भागमा बर्षा, बाँकी मौसम सफा रहने

आइतवार , जेठ ६, २०८१

 

काठमाडौँ, जेठ । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।

विभागका अनुसार अहिले कोशी प्रदेशको केही स्थान र बागमती प्रदेशको पहाडी भूभागको केही भागमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागले आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाएको छ ।

कोशी र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थानका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

देशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले अहिले बिहान छ बजे जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

मधेस र लुम्बिनी प्रदेशलगायत कोशी, बागमती, गण्डकी कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिउँ पर्नसक्ने छ ।

आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशको पहाडी भागका केही भेगका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

विभागले देशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यकाको अहिलेको तापक्रम २० डिग्री सेल्सियस छ । आज यहाँको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियसकाबीच रहने विभागको पूर्वानुमान छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार