इलाम, बैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत इलाम- २ मा मतगणना सुरु भएको छ । आइतबार बिहानको सर्वदलीय बैठकले पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना सुरु गर्ने निर्णय गरेको थियो ।
फाकफोकथुम गाउँपालिकाको ७ वडामा ९ हजार ७ सय ४ मत खसेको छ । फाकफोकथुकको गणनापछि दक्षीण इलामको चुलाचुली, माङ्सेबुङ, माई, देउमाईपछि अन्तिममा इलाम नगरपालिकाको मत गनिने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जनाए।
उनले सोमबार बेलुकासम्म अन्तिम परिणाम आउन सक्ने बताए । उनले भने,'बढीमा ३६ घण्टाभित्र फाइनल नतिजा सार्वजनिक गर्ने गरी गणना हुँदैछ।'
मतगणनाको अपडेट दुई-दुई घण्टामा सार्वजनिक गर्ने निर्वाचन कार्यालयले जनाएको छ । मतगणनास्थल इलाम नगरपालिकास्थित गौतम बुद्ध टाउन हलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
शनिबार सम्पन्न निर्वाचनमा जम्मा ६९ हजार २८७ मत खसेको थियो । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको यो क्षेत्रमा इलाम नगरपालिकाको ११ वटा वडावाट २० हजार ६६५ मत खसेको थियो ।
देउमाई नगरको ९ वटामा १५ हजार ९८० मत खसेको थियो । माङ्सेबुङ र चुलाचुलीका ६र६ वटावाट क्रमशः ७ हजार २ सय ६ र ११ हजार १९८ तथा माई नगरको ३ वडाबाट ४ हजार ६३४ मत खसेको थियो ।
चुलाचुली, माङ्सेबुङ, फाकफोकथुम जस्ता विकट पालिकाहरूबाट मतपेटिका संकलन गरी मुचुल्का गर्दा सोमबार बिहान भएको थियो ।