२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

धवलागिरि र अन्नपूर्ण आरोहण :  चालु वसन्तयाममा ४० जनालाई अनुमति

आइतवार , बैशाख २, २०८१


म्याग्दी, वैशाख । चालु वसन्तयाममा म्याग्दीमा रहेका धवलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४० जनाले अनुमति लिएका छन् ।  धवलागिरि गाउँपालिका–४ मा रहेको विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल चढ्न १५ र अन्नपूर्ण गाउँपालिका–४ मा रहेको (८०९१ मिटर) अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि २५ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । 

विभागका वरिष्ठ अधिकृत दिलीपकुमार मर्हजनका अनुसार धवलागिरि आरोहणका लागि एक वटा समूहका १० जना पुरुष र पाँच जना महिला तथा अन्नपूर्ण आरोहणका लागि तीन वटा समूहका १४ जना पुरुष र ११ जना महिलाले अनुमति लिएका हुन् । 

धवलागिरि आरोहण अनुमतिवापत रु ३५ लाख ७० हजार आठ सय ४० र अन्नपूर्ण आरोहण अनुमति वापत रु ५९ लाख ६१ हजार  ७८० रोयल्टी (सलामी दस्तुर) सङ्कलन भएको विभागले जनाएको छ । 

विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका धवलागिरि गाउँपालिका–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताए ।  

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा आरोही र पर्यटकको चहलपहल बढेको बताए ।  
 
गत शरदयाममा चार समूहका १२ जना पुरुष र ११ जना महिला पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका थिए । शरदयाममा अन्नपूर्ण हिमाल आरोहण गर्न कसैले पनि अनुमति लिएका थिएनन् ।  

यसैबीच अस्ट्रेलीयाकी ४७ वर्षीया पर्वतारोही एली पेपरले आइतबार दिउँसो १२ बजेर ७ मिनेटमा अक्सिजन बिना अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको छ । 

पेपरले सेभन समिट टे«कका पथप्रर्दशक मिकेल शेर्पा र निमा शेर्पाको सहयोगमा अक्सिजन विना अन्नपूर्ण आरोहण गर्नुभएको सभेन समिट टे«क्सका अध्यक्ष मिङ्मा शेर्पाले बताए । 

शेर्पाका अनुसार नेपाली पर्वतारोही १७ वर्षीय निमा रिन्जी शेर्पाले ४ दिनअघि अक्सिजन बिनै अन्नपूर्णको सफल आरोहण गरेका थिए ।  । पेपरले दुई वर्षभित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राखेका छन ।  

पर्यटन विभागको पछिल्लो विवरण अनुसार चालु यामका लागि नेपालका १९ वटा हिमाल आरोहण गर्न ४० देशका  ५१२ जनाले अनुमति लिएका छन् । उनीहरुबाट रु ३४ करोड ४३ लाख ९९ हजार ६५६ रोयल्टी सङ्कलन भएको विभागले जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार