काठमाडौँ, चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान संविधान संशोधन नगरेसम्म देशमा राजनीतिक स्थिरता कायम नहुने बताएका छन् । उनले निर्वाचन प्रणालीका कारण देशमा अस्थिरता बढेको दाबी गर्दै संविधानमा संशोधन गरेर अघि बढ्नुपर्ने धारणा राखे ।
बुधबार नेपाल शिक्षक संघको २३ औँ संघीय प्रतिनिधिसभामा बोल्दै नेता कोइरालाले संविधान संशोधन मार्फत सुशासन, विकास र समृद्धिको बाटोमा हिडाउन कांग्रेस र एमालेबीच सहकार्यको आवश्यकता रहेको बताए ।
'कहिले सरकार गठन र विघटन मात्रै गरिरहने ? अनि जनताको काम कहिले काम गर्ने ? विकास कहिले गर्ने ?,' उनले भने ।
'संविधान सभाको पहिलो निर्वाचनबाट कम्युनिष्टहरु पटक-पटक सत्तामा पुगे पनि संविधान बनाउन सकेनन् र जब दोस्रो संविधान सभाबाट कांग्रेसको नेतृत्वमा सरकार बन्यो अनि मात्रै संविधान जारी भयो ।'
परिवर्तन कांग्रेसबाट मात्रै सम्भव छ भन्ने कुरा बुझ्नपर्यो,' उनले भने, 'त्यसैले अब कांग्रेस र एमाले मिलेर संविधान संशोधन गर्नुपर्ने आवश्यकता छ ।'
उनले राजनीतिक स्थिरता, सुशासन र विकास आफ्नो मुल एजेन्डा भएको र त्यसमा आफू पुर्णरुपले प्रतिबद्ध रहेको बताए ।
कोइरालाले पार्टीभित्रको तिक्तता र मनमुटाव बिर्सेर संगठनमा लाग्न र एक्लै निर्वाचन लड्ने तयारीमा जुट्न देशभरका कार्यकर्तालाई आग्रह गरे ।