काठमाडौँ, चैत । सञ्चारकर्मी महिलाहरूले समाचारकक्ष लैङ्गिकमैत्री नभएको बताएका छन् । राष्ट्रिय महिला आयोगद्वारा आज यहाँ आयोजित ‘महिला सञ्चारकर्मीहरूको अवसर, चुनौती र आयोगसँगको सहकार्य र समन्वय’ सम्बन्धी कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी महिलाहरूले सो कुरा व्यक्त गरेका हुन् ।
पत्रकार महिलाहरूले कार्यक्रममा सरकारले तोकेको सुत्केरी बिदा पूरा समय प्राप्त नभएको, पारिश्रमिकमा विभेद, कार्यस्थलमा हुने दुव्र्यवहारका बारेमा बोलेका थिए । पत्रकार चन्दा विष्टले पुरुष सहकर्मी महिलाप्रति अझै संवेदनशील हुन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सञ्चारमाध्यममा महिलाहरूको सवालका कार्यक्रम कत्तिको प्रसारण हुन्छ त त्यो विषय पनि सोचनीय हो ।”
त्यसैगरी पत्रकार देविका घर्तीमगरले अहिले मिडिया उद्योगमा समस्या देखिरहँदा पत्रकार महिला झन् पीडित बनिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “महिलालाई अनेक बहानामा निकाल्ने काम भइरहेको छ । मिडियामा लैङ्गिकमैत्री नीतिको कार्यान्वयन एकदमै कम भएको देखिन्छ, कर्मचारी कटौतीमा पनि महिलाहरू नै सुरुमा किन ?”
यसैगरी पत्रकार सीता पौडेलले शारीरिकभन्दा पनि महिलाहरूले मानसिक हिंसा बढी भोगिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नियुक्तिपत्र पनि नलिई धेरै जना काम गरिराख्नुभएको छ । समाचार स्रोतले अझै पनि सजिलै विश्वास गर्दैनन् । सोच तथा नीतिगत रूपमा नै परिवर्तन आउन आवश्यक छ ।”
कार्यक्रममा उपस्थित पत्रकारहरूले नेतृत्व तहमा महिलालाई प्राथमिकतामा नदिएको, शौचालय महिलामैत्री नभएको, बिहे र बच्चा भएपछि करिअरबाट विस्थापित भइने हो कि भन्ने डर धेरै पत्रकार महिलामा भएको बताए ।
उनीहरूले सञ्चारमाध्यममा लैङ्गिक नीति कार्यान्वयनमा ल्याउन अभियानकै रूपमा लानुपर्नेमा जोड दिए ।
आयोगकी अध्यक्ष कमला पराजुलीले सञ्चारकर्मीले दिएका सुझावलाई अवलम्बन गर्दै आएका गुनासा तथा सुझावलाई नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल, सम्पादकहरूसँग छलफल गरेर लैङ्गिक संवेदनशीलता कसरी अपनाउने भन्नेमा नीति तय गरिने बताउनुभयो ।
महिला आयोगमा मानसिक हिंसाका उजुरी बढी
आयोगमा मानसिक हिंसाका उजुरी बढी दर्ता भएका छन् । आयोगले चालु आव २०८०÷८१ को साउनदेखि फागुनसम्म हिंसाजन्य उजुरीमा मानसिक हिंसाको सङ्ख्या अधिक रहेको तथ्याङ्कले देखाएको छ ।
तथ्याङ्कले तीन सय ३५ वटा मानसिक हिंसाको उजुरी दर्ता भएको देखाउँछ भने आर्थिक हिंसा दुई सय तीन, शारीरिक हिंसा एक सय १९ र यौनजन्य हिंसा १६ वटा दर्ता भएका छन् ।
त्यसैगरी महिला हिंसासम्बन्धी तीन सय ४६ वटा उजुरी प्राप्त भएका छन् । सबैभन्दा धेरै घरेलु हिंसाका घटना दर्ता भएका छन् । घरेलु हिंसा तीन सय ३२ र १४ वटा महिला हिंसाका घटना दर्ता भएका छन् ।
आयोगकी सचिव पार्वती अर्यालले लैङ्गिक हिंसामा परेका महिला तथा आश्रित बालबालिकाका लागि मनोसामाजिक परामर्श उपलब्ध गराइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले कानुनी परामर्श तथा कानुनी सहायता उपलब्ध गराउँछौँ भने दुवै पक्षको आपसी सहमति भएमा मेलमिलाप गराउने गर्दछौँ ।”
महिला आयोग र साझेदार संस्थाले दुई सय १६ वटा मनोसामाजिक परामर्श दिएको उहाँले जानकारी गराउनुभयो । त्यसैगरी कानुनी परामर्श एक सय १९ र मेलमिलाप एक सय १५ वटा भएका छन् ।
सचिव अर्यालले आयोगमा दर्ता भएका घरेलु हिंसाका केही उजुरीमा छलफलपश्चात आपसी सहमतिमा विवाह दर्ता र बच्चाको जन्मदर्ता भएको पनि जानकारी गराउनुभयो ।
उहाँले लिभिङ टुगेदरका धेरै घटनाको उजुरी प्राप्त भएको बताउँदै भन्नुभयो, “लिभिङ टुगेदरका मुद्दाहरू बढी देखिन्छन् । दर्ताबिनाको विवाह र त्यसबाट उत्पन्न हुने समस्याले चुनौती थपिदिएको छ । दाइजो प्रथाले पनि थुप्रै समस्या निम्त्याएको छ ।”