२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 दोस्रो टी–२० खेल : आयरल्याण्ड ‘ए’विरुद्धको शृङ्खला नेपालले जित्यो

मंगलवार , चैत्र १३, २०८०

 

काठमाडौ  चैत । आयरल्याण्ड‘ए’विरुद्धको दोस्रो टी–२० खेलमा नेपाल विजयी भएको छ । आयरल्याण्ड‘ए’लाई ७१ रनले पराजित गर्दै नेपालले उक्त शृङ्खलाको उपाधि जितेको हो । यसअघि पहिलो खेलमा पनि नेपालले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो । 
 
आजको खेलमा नेपालले आयरल्याण्डलाई जितको लागि  १९९ रनको लक्ष्य दिएको थियो । जवाफमा आयरल्याण्डको पारी १८ दशमलव तीन ओभरमा सवै विकेट गुमाउँदै १२७ रनमा समेटियो । 

आयरल्याण्डका लागि स्टेफन डोहेनीले सर्वाधिक २६ रन बनाए । उनले १३ बलमा चार चौका र एक छक्का प्रहार गरे । यस्तै मोर्गन टपिङ्गले २१, केड कारमाइकलले १८ तथा कप्तान निल रकले १७ रन बनाए । 

बलिङतर्फ नेपालका कुशल मल्ल र सोमपाल कामीले तीन तीन तथा विवेक यादव, कुशल भुर्तेल र करण केसीले एक एक विकेट लिए । 

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९८ रन बनायो । 

नेपालका लागि गुल्शन झाले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३२ बल खेल्ने क्रममा एक चौका र चार छक्का प्रहार गरे । 

त्यसैगरी, कुशल मल्लले १३ बलमा एक चौका र चार छक्काको सहयोगमा ३४, कप्तान रोहितकुमार पौडेलले २४ बलमा पाँच चौकाको मद्दतमा ३३, कुशल भुर्तेलले २५, सन्दीप जोराले २१, अनिल साहले १२ तथा आशिफ शेखले ११ रन बनाए ।

बलिङतर्फ आयरल्याण्ड ‘ए’ का म्याथ्यु फस्टरले तीन, बेन ह्वाइटले दुई तथा फिन ह्यान्ड र गेभिन होईले एक एक विकेट लिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार