२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

दादुरा–रुबेलाविरुद्ध खोप

उपप्रधानमन्त्री यादवले अभिभावकलाई भने :   " आफ्ना बालबालिकालाई खोप लगाउनुस् " 

शुक्रवार , चैत्र २, २०८०

 

काठमाडौँ, चैत । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आफ्ना उमेर समूहका सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन अभिभावकसमक्ष अनुरोध गरेका छन ।  

आज एक भिडियो सन्देश जारी गर्दै दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै सरकारले सञ्चालन गरेको खोप अभियानमा अभिभावकलाई आफ्ना सबै बालबालिकालाई खोप लगाउन अनुरोध गरेका हुन ।  

उनले सन् २०२६ मा दादुरा–रुबेला रोग निवारण गर्ने विश्वसामु प्रतिबद्धता जनाएको हुँदा उक्त खोप अभियान देशव्यापी रुपमा सञ्चालन गर्नु परेको उल्लेख गरेका छन ।  

उनले सन्देशमा गत वर्षको मङ्सिरदेखि तराई, मधेस र काठमाडौँ उपत्यकामा फैलिएको हुँदा ती जिल्ला दादुराका लागि उच्च जोखिम क्षेत्र भनी पहिचान गरिएको उल्लेख गरेका छन ।  

भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अति सङ्क्रमित २१ तथा काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइँदै छ ।

 “दादुरा–रुबेला खोप अभियानमा दिइने यो खोप अतिरिक्त मात्रा हो । त्यसैले पहिलो यो खोप लगाएका वा नलगाएका सबैले यस अवसरमा खोप लगाुउनुपर्दछ”, उनले भने ।  

उनले खोप सेवा विभिन्न खोप केन्द्रबाट प्रदान भइरहेको र खोप केन्द्र सञ्चालन हुने स्थान र मितिबारे स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गरेर खोप लगाउन अनुरोध गरेका छन । 

उनले जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यसप्रकारका कार्यक्रमको आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन स्थानीय तहको नेतृत्वदायी भूमिका अत्यन्तै प्रभावकारी हुने बताए ।  

उपप्रधामन्त्री यादवले अभियानलाई सफलतापूर्वक सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयका साथै प्रदेश तहमा रहेका सम्बद्ध मन्त्रालय र जिल्ला तथा स्थानीय तह र साझेदार सङ्घ संस्थाहरुसँग अनुरोध गरेका छन । 

गत फागुन १३ गतेदेखि दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पश्चिमरुकुम र जाजरकोटबाहेक ७५ जिल्लामा यही चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरेको हो । ती जिल्लाका कूल ५७ लाख ४२ हजार ९९३ बालबालिका खोप लगाउने लक्ष्य राखिएको छ । 

खोप अभियानमार्फत करिब ८० प्रतिशत बालबालिकाले खोप लगाएका छन् । 

अहिलेसम्म करिब ४६ लाख ३७ हजार ४६२ जना बालबालिकालाई खोप लगाइएको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिएका छन ।  खोप बिहान १० देखि दिउँसो ४ बजेसम्म लगाइँदै आइएको छ । 
(

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार