फिक्कल (इलाम), फागुन । वैशाख १५ गते प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुने तय भएपछि इलाम–२ मा चुनावी सरगर्मी बढेको छ । आकाङ्क्षीहरुले उम्मेदवार बन्नका लागि पार्टीभित्र सक्रियता बढाएका छन् ।
गत निर्वाचनमार्फत निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
विसं २०५६ यता सबै निर्वाचन जित्दै आएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) र अघिल्लो निर्वाचनमा ११४ मतको झिनो अन्तरले पराजित कांग्रेसले उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) , राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी केन्द्रलगायत दल पनि चुनावी गतिविधिलाई बढाउँदै लगेका छन् ।
एमालेमा आबद्ध छ जनाले उम्मेदवार सिफारिसका लागि पार्टीद्वारा गठित कार्यदलमा निवेदन दिएका छन् । कार्यदल सचिव उमेश गुरुङका अनुसार स्व सुवासचन्द्र नेम्बाङका छोरा सुहाङ नेम्बाङ, एमाले इलामका उपसचिव रवीन्द्र सुवेदी, जिल्ला सदस्य डा देवी क्षेत्री दुलाल, एमाले इलाम–२ क्षेत्रीय संयोजक बुद्धि खनाल, नरेन्द्रनाथ भट्टराई र प्रदेशसमिति सदस्य रिपल राईले उम्मेदवार सिफासिका लागि कार्यदलमा निवेदन दिएका छन ।
सो कार्यदलले सकेसम्म सर्वसम्मतको प्रयास गर्ने र सम्भव नभए जिल्ला कमिटीमार्फत सबैको नाम केन्द्रीय कमिटीमा पठाउने सचिव गुरुङले बताए ।
“हामी चैत ३ गतेसम्म सर्वसम्मतका लागि प्रयास गर्छौं, सम्भव नभए जिल्ला कमिटीमा पठाउँछौँ र जिल्ला कमिटीले चैत ५ गतेसम्म सबैको नाम केन्द्रीय कमिटीमा पठाउनेछ”, गुरुङले भने ।
एमालेले उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन एमाले इलामका उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा जिल्ला सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङदेम्बे र दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन गरेको थियो ।
कार्यदलले उम्मेदवार हुन इच्छुकलाई व्यक्तिगत विवरणसहित निवेदन दिन आग्रह गरेको थियो ।
एमाले केन्द्रीय कमिटीले जिल्लामा पठाएको अन्तर पार्टी निर्देशनमा जिल्ला कमिटीले उम्मेदवारीका लागि एक महिलासहित तीन जनाको नाम केन्द्रमा सिफारिस गर्नुपर्ने उल्लेख छ ।
गत निर्वाचनमा ११४ को झिनो मतान्तरले पराजित कांग्रेसबाट पनि उम्मेदवारका आकाङक्षीको सङ्ख्या पनि ठूलै छ ।
कांग्रेस इलामका जिल्ला सभापति डम्बरबहादुर खड्का, महाधिवेशन प्रतिनिधि भेषराज आचार्य, पूर्वराज्यमन्त्री केशव थापा र पूर्वसंविधानसभा सदस्य नगेन्द्र कुमालले उम्मेदवारीका लागि दाबी गर्दै आएका छन ।
खड्का २०७९ को प्रतिनिधिसभा सदस्यमा सोही क्षेत्रबाट एमालेका नेम्बाङसँग ११४ मतले पराजित भएका थिए । नेम्बाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार नौ सय छ मत प्राप्त गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पनि यसपटक गठबन्धन बिना चुनाव लड्ने रणनीतिमा छ । गत निर्वाचनमा गठबन्धन गरी कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको माओवादी केन्द्रले यसपटक कसैसँग गठबन्धन नगर्ने प्रदेश समितिले निर्णय गरिसेकेको छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वप्रदेशसभा सदस्य धीरेन्द्र शर्मा (रमन), पार्टी प्रदेश सदस्य हर्कबहादुर लावती र जिल्ला संयोजक विजय खम्बूको नाम पनि चर्चामा छ । यद्यपि, माओवादी केन्द्रले आधिकारिक रुपमा उम्मेदवार घोषणा र सिफारिस भने गरेको छैन ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले तीन जनाको नाम सिफारिस गरेको छ । जसपाका सल्लाहकार डा महेन्द्र लावती, केन्द्रीय सदस्य लोक सागर साम्बा र जिल्ला उपाध्यक्ष यामप्रसाद लिम्बूलाई उम्मेद्वारका लागि सिफारिस गरिएको सो पार्टीले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उम्मेदवार उठाउने चर्चा चले पनि हालसम्म आधिकारिकरुपमा नाम सार्वजनिक गरिसकेको छैन । रास्वपाबाट धर्म गौतम, महेन्द्र थापा, विष्णु काफ्लेलगायतको नाम चर्चामा छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाम चर्चामा छ । उहाँ गत निर्वाचनमा इलाम–१ बाट एमालेका महेश बस्नेतसँग दुई हजार ६४५ मतान्तरले पराजित भएका थिए ।
साथै प्रदेश नम्बर १ पुनःनामकरण संयुक्त सङ्घर्ष समितिले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
समानुपातिकमा यस्तो थियो २०७९ को परिणाम
विसं २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा इलाम(२ को मतदाता एक लाख १५ हजार ४४२ रहेकोमा ६९ हजार ४८१ मत खसेको थियो । खसेको मतमध्ये ६६ हजार ८८५ मत सदर र दुई हजार ५९६ मत बदर भएको थियो ।
सदर मतमध्ये सबैभन्दा धेरै एमालेले २६ हजार ५६२ मत पाएको थियो भने नेपाली कांग्रेसले २२ हजार ३३३, मत प्राप्त गरेको थियो ।
साथै माओवादी केन्द्रले पाँच हजार १५३, राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार ६६८, मङ्गोल नेशनल अर्गनाईजेशनले एक हजार ६६१, राष्ट्रिय जनमुक्ति पार्टीले एक हजार ४१३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक हजार ३२९, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार १९१ र जनता समाजवादी पार्टीले नौ सय छ मत प्राप्त गरेका थिए ।
उपनिर्वाचनको तयारीमा निर्वाचन कार्यालय
जिल्ला निर्वाचन कार्यालय इलामले उपनिर्वाचनको तयारी स्वरुप मतदाता नामावली रुजु, सामग्री व्यवस्थापन गर्ने, मतदानस्थल र मतदान केन्द्रको अवस्थाबारे जानकारी लिनेलगायतका काम सुरु गरेको इलामका जिल्ला निर्वाचन अधिकारी देवीचरण फूँएलले जानकारी दिए ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार उपनिर्वाचनका लागि यही फागुन २४ देखि ३० गतेसम्मका लागि राजनीतिक दल दर्ताको सूचना प्रकाशन भइसकेको छ ।
त्यस्तै आगामी चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । सोही दिन मुख्य निर्वाचन अधिकृत नियुक्त गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
कार्यतालिका अनुसार उम्मेदवारी मनोनयन दर्ता चैत २४ गतेलाई तोकिएको छ । सोही दिन उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशन गर्ने कार्यतालिका छ ।
चैत २५ गते उम्मेदवारको विरोधमा उजुरी तथा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी जाँच गर्ने र २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
त्यस्तै, चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको फूँएलले बताए ।
चैत २८ देखि वैशाख १२ सम्म प्रचार प्रसारको अवधि राखिएको छ भने वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
उपनिर्वाचनका लागि ७९ मतदानस्थलमा १४९ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी फूँएलले बताए ।
उपनिर्वाचनका लागि इलामको मतदाता दुईलाख २७ हजार १५ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मतदातामा महिला एक लाख नौ हजार ९३४, पुरुष एक लाख १७ हजार ७९ र अन्य दुई जना छन् ।