‘मसँग तपाईंको के समस्या थियो ? सभापति भनेको त एउटा पोजिसन भएको मान्छे हो । म सभापति नभएर पनि तपाईसँग निकट भएकाले सबै कुरा मिलाउन व्यक्तिगत रुपमा लागिरहेको थिएँ । यो विश्वास घात गर्नु नै थियो भने भनेरै गरेको भए हुने थियो । यस घटनाले तपाईं भविष्यमा पछुताउनु पर्छ’
काठमाडौँ, फागुन । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टी र आफूलाई धोका दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग आक्रोश पोखेका छन् ।
महामन्त्री गगनकुमार थापा, पार्टीका संसदीय दल प्रमुख सचेतक रमेश लेखकलाई साथमा लिएर गएका सिटौलाले ‘यो धोकाधडी त्यसै नटुंगिने’ भन्दै दाहाललाई चेतावनी समेत दिएका छन् ।
‘यो धोकाधडी मेरो पार्टी कांग्रेसले मात्रै होइन, व्यक्तिगत रुपमा मलाई पनि धोका भएको छ । यो त्यसै टुंगिन्छ भन्ने नठान्नुहोला,’ सिटौलाको भनाई उत्धृत गर्दै स्रोतले भन्यो ।
प्रधानमन्त्री दाहालले गठबन्धनको ‘काँध’ फेरेपछि कांग्रेस नेताहरू पहिलोपल्ट औपचारिक रुपमा प्रधानमन्त्रीलाई भेटेर गठबन्धनका भत्काएकोमा आपत्ति जनाएका हुन् ।
' करिब आधा घण्टाको कुराकानीका क्रममा सिटौलाले दाहालसँग सबै कुरा राखेका थिए । सुरुवातमै उनले कुरा राख्दै ‘तपाईले नै होइन, मलाई बैठकमा राष्ट्रियसभाको अध्यक्ष सिटौलाजीलाई बनाउने हो भने हामी समर्थन गर्न तयार छौ भनेर भन्नुभएको ?
नत्र म राष्ट्रियसभामा जाने वाला पनि थिइनँ । मेरो दलले बनाउने वाला पनि थिएन । अब तपाईले किन बनाउनु भएन ?
सिटौलाको दाहालसँग प्रश्न थियो, ‘फागुन १७ गते बिहान मैले तपाईलाई भेटेँ । २० गते आउँछु भनेर म बाहिर गएँ, तपाईंले हुन्छ भन्नुभयो । तपाईसँग प्रत्येक दिन म सम्पर्कमा छु । संवादमा छु । अहिले तपाई ३र४ महिनादेखि केपी ओलीसँग संवादमा थिए भन्नुहुन्छ, यो सबै छल भएन ?’
कांग्रेस नेताहरूले एकपटक पनि जानकारी नगराई गठबन्धन भत्काएकोमा रोष प्रकट गरेका थिए । दाहालसँग सिटौलाले मात्रै कुरा राखेका थिए । ‘मसँग तपाईंको के समस्या थियो ? सभापति भनेको त एउटा पोजिसन भएको मान्छे हो ।
म सभापति नभएर पनि तपाईसँग निकट भएकाले सबै कुरा मिलाउन व्यक्तिगत रुपमा लागिरहेको थिए । यो विश्वास घात गर्नु नै थियो भने भनेरै गरेको भए हुनेथियो । यस घटनाले तपाईं भविष्यमा पछुताउनु पर्छ,’ सिटौलाले थपे ।
स्रोतका अनुसार दाहालले लामो पृष्ठभूमिका साथ तत्कालीन गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिमा सहयोग नगरेको प्रशंग स्मरण गर्दै सिटौलालाई थामथुम पार्ने प्रयास गरेका थिए । उनले पार्टीभित्रैबाट समस्या भएको बताए ।
पार्टीको स्थायी समितिको बैठकमा शतप्रतिशत पार्टीले उम्मेदवार अघि सार्नुपर्ने मत रहेको र आफू एक्लो परेको कुरा दाहालले दोहोर्याएका थिए ।
‘भोलिको दिनमा तपाईहरूसँग सहकार्य हुन्छ नै, शान्तिप्रकृया, संविधानको कार्यन्वयन, संघीयता, राष्ट्रियताका मुद्दामा हामी सबै सहकार्य गर्नुपर्छ, यतिकै सम्बन्ध सबै टुंगिएको हो भनेर सोची दिन भएन,’ प्रधानमन्त्रीको जवाफ थियो ।
निस्कने बेलामा सिटौलाले थप्दै भने, ' विषय ल्याएर तपाईंले मलाई जसरी विश्वास घात गर्नुभयो, यो कुरा यसरी नै सजिलै टुंगिन्छ भन्ने नठान्नुहोला ।’
त्यसमा दाहालको जवाफ थियो, ‘भोलिका दिनमा तपाईहरूसँग सहकार्य हुन्छ नै । शान्ति प्रकृया, संविधानको कार्यन्वयन, राष्ट्रियता, संघीयतामा सँगै सहकार्य गरेर जानुपर्छ ।’
- कान्तीपुरबाट