२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

हाम्रा - गाउँघर 

थारु ‘होमस्टे’ मा आकर्षण  : "  थारु संस्कृतिको जगेर्ना गर्न परम्परागत बयलगाडा सफारी "

मंगलवार , फाल्गुण १५, २०८०

 

उदयपुर (गाईघाट), फागुन । उदयपुरको त्रियुगा नगरपालिका–१३ बेहडवाको थारु होमस्टे सञ्चालनसँगै थारु संस्कृतिको जगेर्ना गर्न आगन्तुक पर्यटकलाई सेवा प्रदान गर्न बलयगाडा सफारी सुरु गरेका छन् ।
          
बहेडवा थारु होमस्टेमा आउने आगन्तुकलाई  लिन जान र वरपर भ्रमण गराएर थारु संस्कृतिको जगेर्ना गर्नका लागि पहिलो पटक बयलगाडा सफारी सुरु गरिएको थारु घरबास सञ्चालक उतीमलाल चौधरीले बताउनुभएको छ ।
       
होमस्टेदेखि केही परसम्म आगन्तुकलाई लिन जान र होमस्टेमा बास बस्नेलाई बेहडवा क्षेत्रको भ्रमण तथा अवलोकन गराउन पहिलो पटक बयलगाडा सफारी सेवा सञ्चालन गरिएको र यसले पर्यटकलाई पनि मनोरञ्जन दिने र लोप हुँदै गएको बयलगाडा सफारी संस्कृतिको पनि जगेर्ना हुने अर्का घरबास सञ्चालक दीर्घलाल चौधरी बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “घरबास सञ्चालनमा आन्तरिक पर्यटन प्रवद्र्धनका साथै हामी थारु समुदायको संस्कृति वेषभूषा संरक्षण गर्न हाम्रो परम्परागत बयलगाडा सफारी लोप हुँदै गएकाले यसको संरक्षण र छुट्टै थारु विशेषताअनुसार बयलगाडा सफारी सञ्चालन सुरु गरेका हौँ ।”
               
स्थानीय नन्दलाल चौधरीका अनुसार २० देखि ३० वर्ष अगाडिसम्म मालसमान र खेतबारीबाट अन्नपात ढुवानी गर्न बयलगाडा प्रयोग हुनेगरेको थियो । अहिले यातायातका साधानको विकासले बयलगाडा लोप भएका हुन् ।            
 
त्रियुगा नगरपालिकाको बेहडा थारु होमस्टे जिल्लाकै उत्कृष्ट होमस्टे मानिएको छ । 

यहाँ नेपालको अधिकांश सबै प्रदेशबाट पर्यटक आउने गरेका र भारतको सिक्किम, दार्जिलिङबाटसमेत नेपाली पर्यटक  आउने र बास बस्ने गरेको सञ्चालक उतीम लाल चौधरी बताउनुहुन्छ ।
       
बयल गाडासफारीका लागि हाल एक दर्जन बयलगाडा प्रयोग सुरु गरिएको होमस्टे सञ्चालकहरु बताउँछन् । उनीहरूका अनुसार पाँच वटा घरबासमा दैनिक ५० देखि सयसम्मको हाराहारीमा पर्यटक बास बस्ने गरेका छन् । 

होमस्टे सञ्चालनमा रु चार करोडभन्दा बढी लगानी भएको र हाल दैनिक रु ५० हजारदेखि एक लाखसम्म आम्दानी हुने गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार