२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

हाम्रा - गाउँघर 

आकर्षक मुस्ताङको लेते : “ सौन्दर्यमा पर्यटक लोभिए, जता फर्किए नि मनमोहक हिमाल ” 

“हिमालसँगै जैविक, वातावरणीय विविधता र थकाली संस्कृति लेतेको आकर्षण हो”

मंगलवार , फाल्गुण १, २०८०

 

म्याग्दी, फागुन । काठमाडौँबाट मुस्ताङ भ्रमणमा आएको एक निजी कलेजका विद्यार्थी र शिक्षकहरूको ६० जनाको समूह आइतबार थासाङ गाउँपालिका–३ को लेते कालोपानीमा बास बस्यो । 

परिवारका सदस्यहरूसँगै मुस्ताङ घुम्न आएकी पोखराकी सजिना घलेको २३ जनाको टोलीले लेतेमा दुई घण्टा बितायो । 

“मुस्ताङ भित्रनेबित्तिकै पुगिने लेतेको सौन्दर्यमा रमाइलो नगरी अघि बढ्नै मन लागेन्”, उहाँले भन्नुभयो, “जता फर्किए पनि देखिने हिमाल, शान्त वातावरणले लेतेमा समय बितेको पत्तै भएन ।” 

लेतेमा अन्नपूर्ण, धवलागिरि, निलगिरि र टुकुचे हिमालको काखमा बसेको महसुुस गरेको घलेले अनुुभव सुनाउनुभयो । म्याग्दीको सिमानामा रहेको घाँसा काटेपछि पुगिने लेते अधिकांश पर्यटकको रोजाइमा पर्न थालेको छ । 

सम्भव हुनेहरू लेतेमा एकरात बास बसेर वरपरका गन्तव्य घुुम्छन् । बास बस्न सम्भव नहुनेहरूले खाना–खाजा–चिया पिउन एक–डेढ घण्टा भुलेर गन्तव्यतर्फ लाग्ने गरेका लेते कालोपानीको सियु लजका सञ्चालक अमित तुलाचनले बताउनुभयो । 

“धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको काखमा रहेको लेते–कालोपानीको बस्तीको बीचमा बेनी–जोमसोम–कोरला सडक कालोपत्र भएपछि सुन्दर देखिएको छ”, उहाँले भन्नुुभयो, “लेतेबाहेक मुस्ताङको अन्य ठाउँबाट अन्नपूर्ण प्रथम हिमाल नदेखिने भएकाले पनि यहाँ विदेशी पर्यटक आउँछन् ।” 

कालीगण्डकी नदीको किनारमा रहेको यो बस्ती समुुद्री सतहबाट दुई हजार  ५३० मिटरको उचाइमा छ ।

 बस्तीको वरपर सल्ला, धुपी र गुराँसको जङ्गल छ । बर्खामा हरियाली छाउने वनपाखा वसन्त ऋतुमा गुराँस फुलेर रङ्गिन्छ । पृष्ठभूमिको पहाड हिजोआज हिउँले छोपिएको छ । 

कालोपत्र सडकको पृष्ठभूमिमा हिमाल, जङ्गल र पहाडी भूगोलको दृश्यावलोकन, तस्बिर, भिडियो खिच्नेहरूको चहल पहल बढ्न थालेको संरक्षण क्षेत्र व्यवस्थापन समिति लेतेका सचिव प्रमिश गौचनले बताउनुभयो । 

“हिमालसँगै जैविक, वातावरणीय विविधता र थकाली संस्कृति लेतेको आकर्षण हो”, उहाँले भन्नुभयो, “लेतेको सौन्दर्यले मुस्ताङ आएका पर्यटकलाई भुलाएको छ ।” लेतेमा करिब २० वटा सुविधासम्पन्न होटल र लज छन् । व्यवसायीहरूका अनुसार यहाँ एक रातमा एक हजार जनासम्म बास बस्न सक्छन् । 

वसन्त र शरदयाममा भरिभराउ हुुने लेतेका होटल बेसिजनमा पनि खाली हुँदैनन् । लेते आसपासका क्षेत्रमा नयाँ गन्तव्य पहिचान गरी पूर्वाधार निर्माण र प्रवर्द्धनमा जोड दिएको स्थानीयवासीसमेत रहनुभएका प्रतिनिधिसभाका पूर्वसदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो । 

लेतेबाट करिब छ घण्टा यात्रा गरेपछि धवलागिरि आइसफल र कालीबराह पुगिन्छ । पन्ध्र मिनेट उकालो हिँडेर पुुगिने ‘भ्यू प्वाइन्ट’बाट लेतेगाउँको सबै दृश्य हेर्न सकिन्छ ।

लेतेबाट एक घण्टाको पैदलयात्रा गरेपछि पुुगिने सेकुुङ, भुुछत्रो र टिटीतालमा पूर्वाधार निर्माण गरिएको तुलचानले बताउनुभयो । चौँरी, भेडागोठ पनि यहाँको आकर्षण हो । 

चिसो हावापानीमा रासायनिक विषादी र मलको प्रयोग बिनै उत्पादन हुने आलुुको स्वादिष्ट परिकार चाख्न पाइन्छ । पर्यटकलाई लक्षित गरेर लेतेको जनजागरण आमा समूहले थकाली सङ्ग्रहालय पनि सञ्चालन गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार