२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट

अनिल र भीमको शतक   : "   नेपालको क्यानडाविरुद्ध ‘क्लिन स्विप’ "

सोमवार , माघ २९, २०८०

 

काठमाडौँ, माघ । अनिल शाह र भीम सार्कीको शतकमा नेपालले सोमबार क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल ९ विकेटले जितेको छ ।

२३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा २३४ रन बनाएर पुरा गर्दै शृंखला ३–० ले ‘क्लिन स्विप’ गरेको हो । कुशल भुर्तेल १३ रन बनाई पाँचौं ओभरमा आउट भएपछि अनिल र भिमको जोडिले क्यानडाविरुद्ध जमेर ब्याटिङ गरेको थियो ।

अनिल ११२ र भिम १०१ रन बनाई अविजित रहे । दुबैको यो पहिलो शतक हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अनिलले १२४ बल खेली १२ चौका र २ छक्का तथा भिमले १२९ बल खेली ११ चौका र १ छक्का प्रहार गरे । 

यी दुईले दोस्रो विकेटमा १८९ रनको अविजित साझेदारी गरेका थिए, जुन नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा ठुलो साझेदारी हो । 

यसअघि कुशल भुर्तेल र आसिफ शेखले अक्टोबरमा जिम्बावेविरुद्ध विश्वकप छनोटमा हरारेमा १७१ रनको साझेदारी गरेका थिए ।

यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभर खेलि ८ विकेट गुमाई २ सय ३२ रन बनाएको थियो ।

नभनित ढालिवालको अर्धशतक र निखिल दत्तको सानदार इनिङ्समा क्यानडाले सम्मानजनक स्कोर बनाएको थियो । ढालिवाल ठिक ५० रन बनाई आउट भयो । 

उनले ८२ बल खेली ५ चौका प्रहार गरे । ४८ औं ओभरमा रन आउट भएका दत्तले ६२ बलमा ४५ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गरे ।

एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका हेमन्त धामीले आरोन जोन्सनलाई ४ रनमा आउट गरि नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । उनले ३ विकेट लिएर आफ्नो पहिलो खेललाई स्मरणीय बनाए । हेमन्तले ८ ओभरमा ४९ रन खर्चे ।

क्यानडाबाट कप्तान साद बिन जाफर ३१ रन बनाई अविजित रहे । उनले १५ बल खेली ३ चौका र २ छक्का प्रहार गरे ।

श्रीमान्था विजेयरत्ने २८ बलमा २ चौकासहित २२, निकोलास कीर्तन ३, हर्ष ठाकेर ५७ बल खेली २ चौकासहित २९, श्रेयास मोभ्भा २९ बल खेली १ चौका प्रहार गरि २५, डिल्लोन हेलिगर ४ रन बनाई आउट भए ।

नेपालबाट हेमन्तबाहेक कुशल मल्लले २ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ३८ रन खर्चे । ललित राजवंशी र आकाश चन्दले १–१ विकेट लिए ।

नेपालले पहिला खेल ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो । नेपालले बिहीबार देखि सुरु हुने विश्वकप लिग २ को तयारीका लागि क्यानडासँगको शृंखला खेलेको हो । 

नेपालले लिग २ मा नामिबिया र नेदरल्यान्ड्ससँग २–२ खेल खेल्ने छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार