काठमाडौँ, माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मिसन ८४ मा गठबन्धनको नभई जनताको सरकार बन्नु पर्नेमा जोड दिएका छन् । ‘अब ८४ सालमा जनताको सरकार बन्नुपर्छ गठबन्धनको होइन,' उनले भने, ‘एमालेको सरकार बनेमात्र जनताको सरकार बन्ने छ । अहिलेको जस्तो गठबन्धनको सरकार होइन ।’
रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सको प्रांगणमा बिहीबार आजोजित एमाले रौतहटको १० औं जिल्ला अधिवेशन उद्घाटन गर्न पुगेका एमाले अध्यक्ष ओलीले भने, मिसन ८४ मा गठबन्धनको सरकार बन्न हुँदैन ।
‘उनको पार्टी राष्ट्रिय पार्टी नै होइन । उनी स्वतन्त्र सासद हुन्,’ उनले भने, ‘यिनले त्यस बेला थाहा पाउँछन् जतिबेला गठबन्धनले लात लगाउनेछन् । अहिले गठबन्धनको पुच्छर समातेर हिँडेका छन् ।’
अध्यक्ष ओलीले गरुडामा लामो समयदेखि बन्द भएको चिनी मिल संचालन गर्न आफूले प्रधानमन्त्रीसित कुरा राख्ने पनि सभामा सुनाए । ‘नेपालमा सरकारीभन्दा निजी क्षेत्र फस्टाउँछ भन्ने लागेको थियो तर यहाँ त निजी क्षेत्र पनि फस्टाएन’ उनले थपे ।’
अध्यक्ष ओलीले एमालेलाई धोखा दिएको भन्दै समाजवादीका अध्यक्ष नेपाल र आम जनता पार्टीका अध्यक्ष साहप्रति खरो टिप्पणी गरे । उनले बाटो बिराएर दुवैतिर लागेकाहरुलाई फर्कन अनुरोध गरे ।
दुई तिहाईको पार्टी तोडफोड गर्ने प्रदेश सरकार ढालेर कांग्रेसको पाउमा चढाउने समाजवादीका अध्यक्ष नेपाललाई गठबन्धनले लात लगाएपछि मात्र थाहा पाउने भन्दै अध्यक्ष ओलीले आक्रोश पोखे ।
जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा एमालेका केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, अर्का केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ लगायतले बोलेका थिए । दुई दिनसम्म चल्ने अधिवेशनले एमाले रौतहटको नयाँ कार्यसमिति चयन गर्नेछ ।