२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

'समुदायमा कांग्रेस' अभियान 

महामन्त्री थापा गुनासा सुन्दै  ः " जनताका अपेक्षा र सुझाव कार्यान्वयनमा पहल गर्ने "

पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शन प्राप्त हुने 

आइतवार , माघ १४, २०८०

 

बेलबारी (मोरङ) , माघ ।  समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान शनिबारदेखि सुरु भएको छ । 

स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने र जनताबाट आएका सुझावलाई त्यहीँ कार्यान्वयनका लागि पहलकदमी लिने भन्दै कांग्रेसले शनिबारदेखि यो अभियान सुरु गरेको हो । 

मोरङको पुरानो सदरमुकाम रङ्गेली नगरपालिका हुँदै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा नेतृत्वको टोली जहदाको राम चोक, कटाहरी हुँदै विराटनगर आइपुगेको हो । 

शनिबार झापाबाट अभियानको सुरुआतका क्रममा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सांसद प्रदीप पौडेल पनि सहभागी रहेका थिए ।  

उक्त अभियानमा आज नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुली लगायतको सहभागिका रहेको छ । 

यो अभियानबाट पार्टीको आसन्न महासमिति बैठकलगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शन प्राप्त हुने बताइएको छ । 

यस अभियानमा औपचारिक आसन ग्रहण र मन्तव्यलगायत कार्यक्रमहरू छैनन् भने सुरुमै पार्टीको वर्तमान अवस्था र अब गर्नुपर्ने कामका लागि सुझाव माग गरिएको छ । 

आजको मोरङको कार्यक्रममा पनि महामन्त्री थापाले सबै कार्यकर्ता तथा स्थानीय नेताहरुलाई पार्टीका लागि आवश्यक सुझाव दिन र आफ्ना समस्या र गुनासाहरु खुलेरै राख्न आग्रह गरेका थिए । 

उनले अब पार्टीलाई समुदायस्तरमा नभएर प्रत्येक नेपालीका घरघरसम्म पुर्याउने अभियान सञ्चालन गर्न सबैसँग आग्रह गरेका थिए । 

यस अभियानमा खटिएका नेताहरुले बोल्नेभन्दा पनि स्थानीयका गुनासा सुन्ने कार्यक्रम रहेको नेपाली कांग्रेसका महासमिति सदस्य सुयर्माराज राईले बताए । यो अभियान निकै प्रभावकारी रहेको पनि राईले दाबी गरे । 

केन्द्रीय प्रतिनिधिसँग समन्वय गरी जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा सबै छ हजार ४४३ वटै वडामा प्रतिनिधि खटिने र अभियान माघ २६ गतेसम्म सञ्चालन हुने जनाइएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार