२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

' विश्व शान्तिका लागि द्वन्द्वरत पक्षबीच संवाद ' : प्रधानमन्त्री दाहाल

शुक्रवार , माघ १२, २०८०

 
काठमाडौँ, माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षबीच संवाद हुनुपर्नेमा जोड दिएका छन ।  संयुक्त राष्ट्र सङ्घको निःशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उनले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताएका छन । 
 
निःशस्त्रीककरण मामिलासम्बन्धी संयुक्त राष्ट्र सङ्घको निकाय युएनओडिएका तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएकी मिस इजुमी नाकामित्सुसहितको टोलीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाको उदाहरणीय रहेको बताए ।  उनले विश्व शान्तिका लागि संवाद मात्रै एकमात्र विकल्प भएकामा जोड दिए । 
 
“नेपालको ऐतिहासिक शान्ति प्रक्रिया विश्वका मुलुकका लागि उदाहरण बनेको छ”, उनले भने, “अहिले विश्वका कैयन् क्षेत्र अत्यन्तै संवेदनशील अवस्थामा छन् । रुस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्वलगायत घटनाले विश्व शान्तिमा चुनौती थपेका छन् तर हामी वार्ता र संवादका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिन चाहन्छौँ ।”
 
“विश्व शान्ति तथा निःशस्त्रीकरणका पक्षमा संयुक्त राष्ट्र सङ्घले खेलेको भूमिका प्रशंसनीय छ”, उनले भने, “हामी संयुक्त राष्ट्र सङ्घका हरेक कदममा साथ छौँ र भविष्यमा पनि साथ रहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।”
 
छलफलमा इजुमी नाकामित्सुले निःशस्त्रीकरण मामिलाको दक्षिण एसियाली केन्द्रको कार्यालय नेपालमा स्थापना गरिएको र नेपाल दक्षिण एसियाली क्षेत्रमा शान्ति केन्द्र बन्ने अपेक्षा राखेको बताए । 
 
“परमाणु हतियारले सुसज्जित छिमेकीका बीचमा नेपाल शान्ति केन्द्र बन्ने अपेक्षा राखेर केन्द्रको स्थापना गरिएको हो”, उनले भने, “नेपालले विगतमा झैँ क्षेत्रीय र वैश्विक शान्तिका पक्षमा आफ्नो भूमिका प्रभावकारी खेल्ने अपेक्षा रहेको छ ।”
 
सो अवसरमा इजुमीले शान्ति मिसनमा दोस्रो योगदानकर्ता राष्ट्रका रुपमा नेपालले खेलेको भूमिकाको समेत प्रशंसा गरे । छलफलमा संयुक्त राष्ट्र सङ्घको नेपालस्थित आवासीय प्रतिनिधि हाना सिङ्गर, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटा, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार