काठमाडौँ, माघ । भारतको अयोध्यास्थित राम मन्दिरमा प्राण प्रतिष्ठा अनुष्ठान आज हुँदैछ । यो अनुष्ठान बिगत एक हप्तादेखि हुँदै आएको थियो ।
माघ ४ गते ( जनवरी १८) मा गर्भगृहमा निर्धारित आसनमा रामललाको प्रतिमा स्थापित गरियो । पछिल्लो ७० वर्षदेखि पूजा भइरहेको वर्तमान प्रतिमा पनि नयाँ मन्दिरको गर्भगृहमा नै राखिएको छ ।
श्रीराम जन्मभूमि मन्दिर ट्रष्टका महासचिव चम्पत रायले प्राण प्रतिष्ठा समारोहको बेहोरा सार्वजनिक गरेका थिए ।
उनका अनुसार आज माघ ८ गते जनवरी २२ तारिखमा न्यूनतम विधिको प्रयोग गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपस्थितिमा स्थानीय समय अनुसार दिउँसो १२ः२० बजे प्राण प्रतिष्ठाका मुख्य अनुष्ठान आरम्भ गर्नेछन ।
यो पूजा करिब ४० मिनेटसम्म चल्नेछ । यसपछि करिब ७५ मिनेट प्रधानमन्त्री मोदी, मुख्यमन्त्री योगी आदित्यनाथ, संघ प्रमुख मोहन भागवतले सो अवसरमा सम्बोधन गर्नेछन् ।
श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका अध्यक्ष महन्त नृत्यगोपाल दासले आशीर्वाद दिनेछन् ।
समारोहका लागि अहिले बिहान १०ः३० बजेसम्म राम जन्मभूमि परिसरमा प्रवेश गर्नुपर्नेछ । मन्दिर परिसरमा बस्नका लागि आठ हजार कुर्सी राखिने छन् ।
महोत्सवमा भारतका विभिन्न राज्यका २५ वाद्य यन्त्रबाट रामलाको अभिनन्दन गरिने छ । महासचिव रायका अनुसार प्राण प्रतिष्ठाको मुहूत्र्त काशीका वैदिक आचार्य गणेश्वर शास्त्री द्रविडले तय गरेका हुन् ।
वाराणसीका आचार्य लक्ष्मीकान्त दीक्षितको निर्देशनमा १२१ वैदिक आचार्य सम्पूर्ण कर्मकान्ड विभिन्न सम्पन्न गर्नेछन् ।
मूख्य पूजा नेपालका पंडित दुर्गाप्रसाद गौतमले गराउने छन् ।
महोत्सवमा १५० भन्दा बढी परम्पराका सन्त धर्माचार्य तथा ५० भन्दा बढी आदिवासी, गिरिवासी, तटवासी, द्वीपवासी तथा जनजातीयहरुको उपस्थिति हुनेछ ।
मन्दिर निर्माणमा जोडिएका ५०० भन्दा बढी इन्जिनियरको समूह पनि सामेल छन । माघ ८ गते (जनवरी २२) को प्राण प्रतिष्ठाका लागि ५० देशका ५३ जनालाई आमन्त्रित गरिएको जनाइएको छ ।
प्राण प्रतिष्ठामा अधिमास
प्राण प्रतिष्ठामा १२ अधिमास हुनेछ । जसमा माघ २ गते प्रायश्चित्त, कर्मकुटी पूजन भयाे । माघ ३ गते मूर्तिलाई परिसरमा प्रवेश गराइयाे । माघ ४ गते तीर्थपूजन एवं जलयात्रा, जलाधिवास तथा गन्धाधिवास गराइएकाे छ ।
माघ ५ गते औषधाधिवास, केसारधिवास, घृताधिवास, पुष्पाधिवास गराइएकाे छ । माघ ६ गते शर्कराधिवास, फलाधिवास तथा पुष्पाधिवास गराइने छ भने माघ ७ गते मध्याधिवास र सायंकाल शैथ्याधिवास गराइएकाे छ ।
शनिबार र आइतबार श्रद्धालुले रामको दर्शन गर्न पाउने छैनन् । माघ ९ गते (जनवरी २३ तारिख) देखि सर्वसाधारणका लागि नयाँ मन्दिर खुला हुनेछ ।