२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जाजरकोट भूकम्प 

रुकुम पश्चिम   : "  १६ हजार अस्थायी आवास निर्माण "

आइतवार , माघ ७, २०८०

 

त्रिवेणी (रुकुम पश्चिम), माघ । गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएका रुकुम पश्चिममा अस्थायी आवास निर्माण जारी छ हालसम्म जिल्लाभर १६ हजार ३४६ अस्थायी आवास निर्माण सम्पन्न भएका छन् ।

भूकम्प गएको दुई महिनाभन्दा बढी समय वितिसक्दा पनि सबै भूकम्पपीडित अस्थायी आवासमा सर्न सकेका छैनन् । अझै कतिपय पनि भूकम्पपीडित त्रिपालको भरमा तथा चर्किएको घरमा रात काट्न बाध्य छन् । 

दुई महिनामा १६ हजार ३४६ अस्थायी आवास निर्माण सम्पन्न भएका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिनुभयो । अझै पनि सबै पीडितका लागि अस्थायी आवास निर्माण गर्न नसकिएको उहाँले बताउनुभयो । 
 
बढुवाका अनुसार जिल्लाभर सात हजार ४९७ अस्थायी आवास निर्माणको चरणमा रहेका छन् । जिल्लामा २९ हजार चार सय छ लाभग्राही पहिचान भएका जनाउँदै बाँकी लाभग्राहीका लागि अस्थायी आवास निर्माण हुन नसकेको उहाँले बताउनुभयो । 

हालसम्ममा सबैभन्दा बढी अस्थायी आवास आठबीसकोट नगरपालिकामा पाँच हजार  ४८३ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा ७० अस्थायी आवास निर्माण भएका छन् । 

हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट २९ हजार चार सय छ लाभग्राहीका लागि स्थानीय विपद् न्यूनीकरण कोषमा रू २५ हजारका दरले रकम पठाएको छ । 

भूकम्पबाट पीडितको लागत सङ्कलन भइरहेकाले लाभग्राहीको सङ्ख्या तीस हजार पुग्ने जिल्ला प्रशासन कार्यालयले अनुमान गरेको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार