जाजरकोट, माघ । रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन् ।
बयालीस हजार ५२४ पीडितमध्ये २७ हजार ९१ पीडितले मात्र पहिलो किस्ताको रकम पाएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार भेरी नगरपालिकाका जम्मा पीडित छ हजार ६३४ मध्ये चार हजार ६४२ ले पहिलो किस्ताको रकम पाएका छन् ।
नलगाड नगरपालिकाका जम्मा आठ हजार ९७ जना पीडितमध्ये सात हजार १५० जनाले पहिलो किस्ता रकम प्राप्त गरेको जानकारी गराएको छ । छेडागाडमा आठ हजार दुई सय पाँचमध्ये दुई हजार १८८ जनाले मात्र रकम पाएको उल्लेख गरिएको छ ।
बारेकोटमा पाँच हजार ५८६ मध्ये चार हजार ६८७ जनाले पहिलो किस्तावापतको रकम पाएका छन् । कुशे गाउँपालिकाका पाँच हजार २८७ परिवारमध्ये चार हजार १५४ परिवारले पहिलो किस्ताको रकम पाएका छन् ।
त्यस्तै जुनिचाँदे गाउँपालिकामा पाँच हजार चार सय छमध्ये एक हजार एक सय ११३ परिवारलाई पहिलो किस्ता उपलब्ध गराएको छ । शिवालय गाउँपालिकामा तीन हजार तीन सय नौ जनामध्ये तीन हजार १४७ परिवारलाई पहिलो किस्ता उपलब्ध गराएको जानकारी दिइएको छ ।
बयालीस हजार ५२४ पीडितमध्ये हालसम्म २७ हजार ९१ परिवारले रकम बुझेको प्रशासनको विज्ञप्तिमा जनाएको छ । दश हजार १५९ परिवार मात्र अहिलेसम्म अस्थायी टहरा निर्माण गरेर बसिरहेको समेत उल्लेख गरिएको छ ।
हालसम्म ३२ हजार ३६५ परिवार अझै त्रिपालमा बसिरहेका छन् । जम्मा भूकम्पपीडितको सङ्ख्या ४२ हजार ५२४ रहेको छ ।
हालसम्म जुनिचाँदे गाउँपालिकामा कुनै पनि अस्थायी आवास निर्माण नगरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।