२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जाजरकोट भूकम्प (अपडेट ) 

लाभग्राही ७९ हजार नाघे  : "  ८० हजार पुग्ने अनुमान "

शुक्रवार , माघ ५, २०८०

 

काठमाडौँ, माघ । जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको सङ्ख्या पुन थपिएसँगै ७९ हजार ५९९ पुगेको छ । पछिल्लो पटक १२ हजार बढी लाभग्राही थपिएका छन् । 

पहिचान हुन बाँकी रहेका लाभग्राहीलाई स्थानीय तहले पहिचान गरेर तथ्याङ्क पठाएपछि लाभग्राहीको सङ्ख्या ७९ हजार ५९९ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

यसअघि ६७ हजार लाभग्राही रहेकामा यही माघ ४ गतेसम्म पहिचान भएकाको सङ्ख्या थप भएको प्राधिकरणको निजी आवास तथा पुनःनिर्माण शाखाका प्रमुख प्रकाशचन्द्र अधिकारीले जानकारी दिनुभयो । 

प्राधिकरणले यसअघि लाभग्राही ८० हजार १५० पुग्ने अनुमान गरेकामा अहिले सोही हाराहारीमा कायम भएको उहाँले बताउनुभयो ।

अधिकारीका अनुसार सरकारले लाभग्राहीका लागि अहिलेसम्म रू दुई अर्ब २६ करोड निकासा गरिसकेको छ । 

उनीहरुको अस्थायी आवासका लागि रू चार अर्ब ७५ लाख चाहिने अनुमान यसअघि नै गरिएको थियो । सो आधारमा अझै रकम आवश्यक देखिएको छ । 

केन्द्रबाट निकासा गरी पठाइएको रकममध्ये आजसम्म जिल्ला विपद् व्यवस्थापन समितिबाट स्थानीय तहको विपद् व्यवस्थापन समितिमा रू एक अर्ब ९० करोड गएको र स्थानीय तहबाट लाभग्राहीको खातामा रू एक अर्ब २६ करोड पुगिसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार हालसम्म ५० हजार लाभग्राहीको खातामा रकम पुगिसकेको छ । 

त्यसमध्ये २४ हजार १० लाभग्राहीको अस्थायी आवास निर्माण सम्पन्न भएको पोखरेलले बताउनुभयो । उहाँका अनुसार अहिले १० हजार घर निर्माण जारी रहेको छ । 

बाँकी परिवारमा अनुदान सम्झौताको चरणमा रहेको छ । जाजरकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते जनधनको क्षति हुनेगरी भूकम्प गएको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार