काठमाडाैँ, माघ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेसमा कृषि आधुनिकीकरण र औद्योगिककरण नभएसम्म विकास सम्भव नभएको बताएका छन् ।
बाराको करैयामाई गाउँपालिका-८ इटहर बेलाहीमा मधेस प्रदेश सरकारबाट निर्मित तियर पुलको बिहीबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका यादवले मधेसी र मधेसमाथि अझै विभेद रहेकोले त्यसका लागि संघर्ष गर्नुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले मधेसमा आउँदो चैत भित्रमा ३२० किमि पक्की सडक निर्माण हुने बताए । उनले संघीयतापछि नै मधेसमा विकास भइरहेको बताए ।
जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी कारखानालगायत सबै ठूला उद्योग संघीयताअघि नै तत्कालीन सरकारले ठप्प बनाइदिएको उनले बताए ।