काठमाडौँ, पुस । नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर बिहीबारदेखि दुईदिने औपचारिक भ्रमणमा नेपालमा छन ।
बिहीबारकै दिन अको छिमेकी देश चिनियाँ नेतासहितको टोली पनि काठमाडौ आइपुगेको छ । भारतका विदेशमन्त्री एस जयशंकरले आफू आएकै दिन चिनीयाँ पाहुनालाइृ पनि बोलाएको भन्दै नेपाली पक्षसमक्ष असन्तुष्टि जनाएको विभिन्न स्रोतले जनाएको छ ।
बिहीबार दिउँसो चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का युनान प्रान्त डेपुटी सेक्रेटरी सी युगाङ चारदिने भ्रमणका लागि काठमाडौं आएका छन् ।
फेरि रिसाए जयशंकर
कान्तीपुर दैनिक लेख्छ, २०७२ मा नेपालको संविधानसभाले दफा–दफा गर्दै संविधान पारित गरिसकेपछि भारतका तत्कालीन विदेश सचिव जयशंकर प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा काठमाडौं आएका थिए ।
तत्काल संविधान जारी नगर्न गरेको आग्रह अस्वीकार गरेको भन्दै उनले नेपाली नेताहरूसँग वादविवाद गरेका थिए ।
यसपालि विदेशमन्त्रीका रूपमा आएका बेला पनि उनले चिनियाँ नेताको भ्रमणको विषयलाई आफ्नो ‘प्रतिष्ठा’ को विषय बनाएको परराष्ट्रका अधिकारीहरूले बताएका छन् ।
‘आफू आएकै दिन नेपालले उत्तरबाट पनि पाहुना बोलाएको भन्दै उहाँको असन्तुष्टि थियो, असन्तुष्टिभन्दा पनि उहाँले खुलेर रोष नै व्यक्त गर्नुभयो ।
कतिसम्म भने तय गरिएको बैठकमा भाग नलिनेसम्म पनि उहाँको भनाइ थियो,’ परराष्ट्रका एक अधिकारीले भने, ‘जयशंकरजीले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि आपत्ति नै जनाउनुभयो ।
नेपाली पक्षले दुई छिमेकबाट पाहुना आउनुको सन्दर्भ फरक–फरक भएको र एकै दिन पर्नु संयोग मात्र भएको स्पष्ट पारेपछि भारतीय विदेशमन्त्री आयोगको बैठकमा सहभागी हुन तयार हुनुभयो ।’
आयोगको बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा समेत जयशंकरले यही विषय दोहोर्याएका थिए ।
परराष्ट्रमन्त्री एनपी साउद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर भारतीय समकक्षीलाई स्वागत गरेका थिए । तर, चिनियाँ नेताको नेपाल भ्रमणबारे भने परराष्ट्र मन्त्रालय र नेपालस्थित चिनियाँ दूतावासले कुनै पनि सूचना बाहिर ल्याएको छैन ।
कूटनीतिक स्रोतका अनुसार, नेता सीले नेपालका प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव तथा एमाले, माओवादी र नेकपा एसका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
बैठक सकेपछि उनले कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटे ।
भेटमा दुई मुलुकबीचको सम्बन्ध बलियो बनाउने तथा सहकार्य बढाउने विषयमा छलफल भएको भेटवार्तामा सहभागीहरूले जनाएका छन् ।
जयशंकर शुक्रबार बिहान पशुपतिनाथको दर्शन गर्दै छन् । त्यसपछि भारतको सहयोगमा त्रिभुवन विश्वविद्यालयमा निर्मित पुस्तकालयको उद्घाटन गरेर १२ बजे नयाँदिल्ली फर्कने कार्यक्रम छ ।