काठमाडौँ, पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को नयाँ सब-भेरियन्ट जेएन.१ को जोखिम बढेकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालमा अहिलेसम्म यो सब-भेरियन्ट पुष्टि नभए पनि छिमेकी देशहरुमा संक्रमण बढिरहेकाले सतर्कता अपनाउन ध्यानाकर्षण गराएको हो ।
'कोभिड-१९ को नयाँ सब-भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु तथा सम्पूर्ण सरोकारवालाहरुमार्फत आवश्यक स्क्रीनिंग र निगरानी भइरहेको साथै कोभिड- १९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जानकारी गराउँदछौ' मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा छ
भिडभाड हुने स्थानहरु जस्तै मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डहरु जस्तै मास्कको प्रयोग गर्नु हुन, भौतिक दूरी कायम राख्नु हुन र हातको सरसफाईमा विशेषतः ध्यान दिनु हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ ।