काठमाडौँ, पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले अब २०८० को दशक तीव्र विकासको दशक हुने बताएका छन् । सरकार निर्माणको एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै मंगलबार प्रधानमन्त्री दाहालले नागरिकले महसुस गर्ने गरी विकास गरिने बताए ।
प्रधानमन्त्री दाहालले भने , 'यो वर्ष ७७६ दशमलव ६१ किलोमिटर कालोपत्र सडक निर्माण भएको छ भने ५८७ दशमलव ५ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ । '
उनले थपे, 'यसै अवधिमा १८१ दशमलव २९ किलोमिटर नयाँ ‘ट्र्याक’ खोलिएको छ भने थप एक लाख ६२ हजार सुरक्षित आवास निर्माण गरी लाभग्राहीलाई उपलब्ध गराइएको छ । '
उनले सम्बोधनका क्रममा भने, 'यो आँकडाले अघिल्ला वर्षहरूभन्दा प्रगति त देखाउला तर म सन्तुष्ट छैन । '
नारायणगढ–बुटवल खण्ड वा मुग्लिन–पोखरा खण्डकै उदाहरण लिनुपर्नेमा जोड दिँदै प्रधानमन्त्ती दाहालले भने, 'जनताले बाटो भत्केको व्याख्या गरिरहेका छन्, जबकि बाटो त बनिरहेको छ ।'
उनले समयमा आयोजनाहरू पूरा नहुँदा यस्तो नकारात्मक भाष्य मात्र बनेको छैन, लागत बढेको छ, जनताले ठूलो सास्ती खेप्नुपरेको पनि बताए ।