गाजा/रमल्लाह, पुस । इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार हमाससँगको लडाइँमा मारिएका इजराइली सैनिकको सङ्ख्या बढिरहेकाले गाजा युद्धका लागि ‘ठूलो मूल्य’ तिर्नुपरिरहेको बताउनुभएको छ ।
“गाजा युद्धको एउटा कठिन दिनपछि यो कठिन बिहान हो”, शुक्रबारयता प्यालेस्टिनी क्षेत्रमा १४ सैनिक मारिएको सेनाले घोषणा गरेपछि उहाँले भन्नुभयो, “युद्धले धेरै ठूलो मूल्य तिरिरहेको छ तर हामीसँग लडिरहनुको कुनै विकल्प छैन ।”
“हमासलाई विनाश गर्ने, हाम्रा बन्धकहरूलाई फिर्ता गर्ने र इजराइल राज्यका लागि फेरि कहिले पनि गाजा खतरा बन्ने छैन भन्ने सुनिश्चित गर्ने हाम्रा सबै लक्ष्य प्राप्त नगरेसम्म, अन्तिमसम्म, विजय नभएसम्म सम्पूर्ण शक्तिका साथ काम गरिरहने छौँ”, उहाँले भन्नुभयो, “स्पष्ट हुन दिनुहोस् : हमास समाप्त नभएसम्म हामी उत्तर र दक्षिण दुवै स्थामा सुरक्षा पुनःस्थापित गर्नेछौँ ।”
अक्टोबर २७ मा इजराइलको स्थल हमला सुरु भएपछि इजराइली सेनाले प्यालिस्टिनी क्षेत्रमा १५३ सैनिकलाई गुमाएको छ । यसमा शनिबार १० सैनिक पनि सामेल छन् ।
लेबनानसँग आफ्नो उत्तरी सीमामा हिजबुल्लाह लडाकूहरूको पनि सामना गरिरहेको इजराइली सेनाका लागि यो सबैभन्दा घातक दिनहरूमध्येको एक भएको छ ।
यसैबीच हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले इजराइलसँग युद्ध सुरुभएयता प्यालेस्टिनी क्षेत्रमा कम्तीमा २० हजार ४२४ जनाको ज्यान गएको आइतबार बताएको छ ।
दक्षिणी इजराइलमा अक्टोबर ७ मा हमासले आक्रमण सुरु गरेपछि भएको युद्धको पछिल्लो २४ घन्टामा १६६ जनाको मृत्यु भएको हमासले जनाएको छ । रासस / सिन्ह्वा