टक्सार (भोजपुर), पुस । ऐतिहासिक टक्सार बजारमा रहेका धातु उद्योग दक्ष जनशक्ति र कच्चापदार्थको अभावका कारण सङ्कटमा पर्दै गएको छ ।लाखौँ मूल्यको धातुको सामग्री उत्पादन हुँदै आएका टक्सारको धातु उद्योग अहिले आवश्यक स्थानीय स्रोत र साधनको अभावका कारण र दक्ष जनशक्ति पलायन हुँदै गएपछि सङ्कटमा पर्दै गएका हुन् ।
पछिल्लो समय दुई–तीन परिवारले मात्र पुरानो पेसा अगाल्दै आइरहनुभएको छ । स्थानीय बुद्धराज शाक्य लगायतले मात्र अहिले धातुका सामग्रीहरु माग भएमा बनाउँदै आउनुभएको छ । टक्सारको धातु उद्योग र यहाँको मौलिक पहिचानलाई जीवित गराउन पलायन भएका व्यवसायीलाई स्थानीयस्तरबाट पुनः अभिप्रेरित गराउनुपर्ने तथा मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक स्रोत साधन उपलब्ध हुनुपर्ने गराउन जरुरी रहेको स्थानीय विमलकुमार शाक्यको भनाइ रहेको छ ।
इतिहास बोकेको भोजपुर नगरपालिका–१२ टक्सारको धातुसम्बन्धी सामग्री बनाउने उद्योग कुनै बेला चर्चामा थियो ।तर स्थानीयवासी तथा कालिगढहरु समेत पलायन हुने क्रम बढेकाले अहिले टक्सारको धातु व्यवसाय नै जोगाउन मुस्किल परेको स्थानीय सानुकाजी शाक्यले बताउनुभयो ।धातु उद्योगले कच्चापदार्थ कोइला (गोल), मैन र दक्ष जनशक्तिको अभाव झेलिरहेको छ ।
राणाशासन, पञ्चायती शासनकालदेखि धातु उद्योगले प्रसिद्ध कमाएको टक्सारका उद्योग बन्दसँगै बजार क्षेत्रका मानिस पनि पलायन भएपछि टक्सार बजारसमेत सुनसान भएको छ,” उहाँले भन्नुभयो ।कालिगढ विस्थापनसँगै टक्सार बजारले मागअनुसारका सामग्री उत्पादन गर्न नसकेपछि अहिले तराईका जिल्लाहरुबाट नै पसलहरुमा बिक्रीका लागि धातुका सामग्रीहरु आउने गरेका छन् ।
विगतमा जस्तो टक्सार बजारमा धातु व्यवसाय पनि नभएको कारण बिक्रीका लागि बाहिरबाट नै सामग्रीहरु आउने गरेका व्यवसायी नवराज श्रेष्ठले बताउनुभयो । “जनशक्ति अभावमा मागअनुसार टक्सारले सामग्री नै उत्पादन गर्न सक्दैन,” उहाँले भन्नुभयो ।टक्सारमै रहेको घरेलु विकास कार्यालयका अनुसार विगतमा दर्ता भएका धातु उद्योग अहिले केही मात्र सञ्चालनमा देखिएका छन् ।
यहाँ निर्मित करुवालगायत हस्तकलाका सामग्री नेपालमा मात्र होइन, चीनको तिब्बत र भारतको दार्जिलिङ, आसाम, सिलगढी तथा कोलकातासम्म बिक्रीका लागि निर्यात हुने गरेको स्थानीयवासीको भनाइ छ ।टक्सार बजारका पुराना धातु व्यवसायी शाक्यले काँसका थोत्रा समान पगालेर विभिन्न नयाँ समान बनाउनुहुन्छ । करुवा, कलश, कचौरा, गाग्रीलगायत सामानहरु आफूले बनाउँदै आएको शाक्यले बताउनुभयो ।
ऐतिहासिक कलामा पोख्त कालिगढहरु पलायन भएपछि मूर्तिकला र हस्तकलाको उद्योग पनि लोप भएको छ ।व्यवसायी शाक्यले भन्नुभयो “कालिगढको अभावसँगै कच्चापदार्थको अभावमा धातु उद्योग फस्टाउन सकेको छैन, स्थानीय स्तरमा खानी सञ्चालन नभएकाले तराईबाट आवश्यक कच्चापदार्थहरु र कोइला ढुवानी गर्दा महँगोसमेत हुने भएकाले पनि टक्सारबाट कालिगढहरुको विस्थापन हुने क्रम बढेको छ ।