२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

हाम्रा - गाउँघर 

 ऐतिहासिक टक्सार (भोजपुर) को धातु व्यवसाय   :  "  जोगाउनै मुस्किल "

बुधवार , पौष ४, २०८०

 

टक्सार (भोजपुर), पुस । ऐतिहासिक टक्सार बजारमा रहेका धातु उद्योग दक्ष जनशक्ति र कच्चापदार्थको अभावका कारण सङ्कटमा पर्दै गएको छ । 

लाखौँ मूल्यको धातुको सामग्री उत्पादन हुँदै आएका  टक्सारको धातु उद्योग अहिले आवश्यक स्थानीय स्रोत र साधनको अभावका कारण र दक्ष जनशक्ति पलायन हुँदै गएपछि सङ्कटमा पर्दै गएका हुन् । 

पछिल्लो समय दुई–तीन परिवारले मात्र पुरानो पेसा अगाल्दै आइरहनुभएको छ । स्थानीय बुद्धराज शाक्य लगायतले मात्र अहिले धातुका सामग्रीहरु माग भएमा बनाउँदै आउनुभएको छ । 

टक्सारको धातु उद्योग र यहाँको मौलिक पहिचानलाई जीवित गराउन पलायन भएका व्यवसायीलाई स्थानीयस्तरबाट पुनः अभिप्रेरित गराउनुपर्ने तथा मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक स्रोत साधन उपलब्ध हुनुपर्ने गराउन जरुरी रहेको स्थानीय विमलकुमार शाक्यको भनाइ रहेको छ । 

इतिहास बोकेको भोजपुर नगरपालिका–१२ टक्सारको धातुसम्बन्धी सामग्री बनाउने उद्योग कुनै बेला चर्चामा थियो । 

तर स्थानीयवासी तथा कालिगढहरु समेत पलायन हुने क्रम बढेकाले अहिले टक्सारको धातु व्यवसाय नै जोगाउन मुस्किल परेको स्थानीय सानुकाजी शाक्यले बताउनुभयो ।

 “धातु उद्योगले कच्चापदार्थ कोइला ९गोल०, मैन र दक्ष जनशक्तिको अभाव झेलिरहेको छ । 

राणाशासन, पञ्चायती शासनकालदेखि धातु उद्योगले प्रसिद्ध कमाएको टक्सारका उद्योग बन्दसँगै बजार क्षेत्रका मानिस पनि पलायन भएपछि टक्सार बजारसमेत सुनसान भएको छ,” उहाँले भन्नुभयो । 

कालिगढ विस्थापनसँगै टक्सार बजारले मागअनुसारका सामग्री उत्पादन गर्न नसकेपछि अहिले तराईका जिल्लाहरुबाट नै पसलहरुमा बिक्रीका लागि धातुका सामग्रीहरु आउने गरेका छन् । 

विगतमा जस्तो टक्सार बजारमा धातु व्यवसाय पनि नभएको कारण बिक्रीका लागि बाहिरबाट नै सामग्रीहरु आउने गरेका व्यवसायी नवराज श्रेष्ठले बताउनुभयो । “जनशक्ति अभावमा मागअनुसार टक्सारले सामग्री नै उत्पादन गर्न सक्दैन,” उहाँले भन्नुभयो । 

टक्सारमै रहेको घरेलु विकास कार्यालयका अनुसार विगतमा दर्ता भएका धातु उद्योग अहिले केही मात्र सञ्चालनमा देखिएका छन् । 

यहाँ निर्मित करुवालगायत हस्तकलाका सामग्री नेपालमा मात्र होइन, चीनको तिब्बत र भारतको दार्जिलिङ, आसाम, सिलगढी तथा कोलकातासम्म बिक्रीका लागि निर्यात हुने गरेको स्थानीयवासीको भनाइ छ । 

टक्सार बजारका पुराना धातु व्यवसायी शाक्यले काँसका थोत्रा समान पगालेर विभिन्न नयाँ समान बनाउनुहुन्छ । करुवा, कलश, कचौरा, गाग्रीलगायत सामानहरु आफूले बनाउँदै आएको शाक्यले बताउनुभयो । 

ऐतिहासिक कलामा पोख्त कालिगढहरु पलायन भएपछि मूर्तिकला र हस्तकलाको उद्योग पनि लोप भएको छ । 

व्यवसायी शाक्यले भन्नुभयो “कालिगढको अभावसँगै कच्चापदार्थको अभावमा धातु उद्योग फस्टाउन सकेको छैन, स्थानीय स्तरमा खानी सञ्चालन नभएकाले तराईबाट आवश्यक कच्चापदार्थहरु र कोइला ढुवानी गर्दा महँगोसमेत हुने भएकाले पनि टक्सारबाट कालिगढहरुको विस्थापन हुने क्रम बढेको छ ।”  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार