२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सांसदसँग रासस  संबाद

सांसद रावल भन्छिन  : "  संविधान अनुकुल कानुन बन्नसकेका छैनन"

'कानुन बनाउन ढिलाइ हुनुमा दोषी सरकार हो, संसद् र सांसद होइन'

बिहिवार , मंसिर १४, २०८०

काठमाडौँ,  मङ्सिर ।  राष्ट्रियसभाका सांसद दिलकुमारी रावल थापा ‘पार्वती’लाई सांसदले योजनाका फाइल बोकेर मन्त्रालयपिच्छे बजेट माग्न धाउने परिपाटीको अन्त्य गर्नुपर्छ भन्ने लागेको छ । 

मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएर तीन तहको सरकार बनिसकेको अवस्थामा फेरि सङ्घीय सांसदले विकासका लागि योजनाका फाइल बोकेर बजेट माग्दै हिँड्नु ठीक होइन भन्ने उनको ठम्याइ छ ।
    
“तीन तहको सरकार छ, विकासका लागि केन्द्रले योजना बनाउने हो, तर अहिले पनि प्रतिनिधिसभाकै सांसद विकासकै लागि पैसा खोज्न मन्त्रालय धाउने काम रोकिएको छैन”, उनको भनाई छ,  “योजनाको फाइल बोकेर योजना माग्दै सांसद हिँड्ने परिपाटीको अन्त्य गर्नुपर्छ, सांसदको नाममा बजेट दिने काम ठीक होइन, यो रोक्नुपर्छ”, सांसद रावललाई सांसद विकास कोषको पनि जरुरी छैन भन्ने लाग्छ । 

“सङ्घ, प्रदेश र स्थानीय तहमा बजेट बनाउँदा सहभागी हुन सकिन्छ । ” उनले थपिन्,  (एमाले) निकट विद्यार्थी सङ्गठन हुँदै २०५२ सालदेखि राजनीतिको यात्रा तय गरेकी रावलले जनताको प्रतिनिधि भएर २०७४ फागुन २० गते राष्ट्रियसभा सदस्यका रुपमा सपथ लिएकी हुन ।  आगामी फागुन २० गते छ वर्ष पुग्दैछ ।
    
नेत्री रावललाई विद्यार्थी आन्दोलन र समाज परिर्वतनको आन्दोलनमा लाग्दा यति महत्वपूर्ण स्थानमा पुगेर काम गर्ने अवसर मिल्ला भन्ने लागेको थिएन । तर उनलाई एमालेमा आबद्ध भएर जनप्रतिनिधिको संस्था संसद्मा आएर छ वर्ष काम गर्ने अवसर मिल्यो । 

उनलाई राष्ट्रियसभामा काम गर्ने अवसर पाउनुभन्दा अघि पहिलो संविधानसभा २०६४, दोस्रो संविधानसभा २०७१ र उपनिर्वाचन २०७१ प्रत्यक्ष निर्वाचन लड्ने अवसर समेत पार्टीले दिएको थियो । नेत्री रावलले झण्डै साढे पाँच वर्ष राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति भएर काम सक्रियरुपमा काम गरेकी छन । 
    
समितिको सभापति भएर काम गर्दा सधैँ जनता र राष्ट्रको हितमा कानुन कसरी निमार्ण गर्न सकिन्छ भन्ने कुरामा उहाँको ध्यान केन्द्रित भयो । 

“कानुन निर्माणको क्षेत्रमा कसरी मुलुकको हितमा बनाउन सकिन्छ भनेर सम्पूर्ण ध्यान त्यही केन्द्रित भयो, संसद्को निगरानीलाई प्रभावकारी बनाउनका लागि काम गरियो”, उनले जोढिन, “पहिलो पटक संसद् भएर सभापतिको जिम्मेवारी पूरा गर्न कुशलतापूर्वक गर्न सक्छु कि सक्दिन भन्ने थियो तर मैले पूर्णरुपमा प्रयत्न गरे ।” 

राष्ट्रियसभामा उनलाई छ वर्ष काम गर्ने अवसर मिल्यो । विसं २०३७ मङ्सिर २५ गते भरतपुर महानगपालिका–१६ ब्रह्मपुरमा जन्मनुभएकी नेत्री रावलले २०५५ सालमा एमालेको वडा कमिटी हुँदै गाउँ कमिटी सदस्य भएर काम गरेकी छन । 

त्यस्तै, २०५५ सालदेखि २०५८ सम्म अखिल नेपाल महिला सङ्घ जिल्ला चितवन जिल्ला कमिटी सदस्य, तत्कालीन प्ररायु सङ्घको जिल्ला सचिव हुँदै अध्यक्ष, महिला जिल्ला समन्वय समितिको उपाध्यक्ष भएर काम गरेकी छन । पार्टीको जिल्ला सदस्य, उपसचिव हुँदै सचिवको जिम्मेवारी जिल्लामा रहेर निर्वाह गरिन् । 
    
संविधान जारी भएको यतिका वर्ष बितिसक्दा पनि संविधान अनुकुलका कानुन नै बनाउन सकेको छैनन् । सांसद रावललाई सरकारले सदनलाई विजनेस नदिएकै कारण कानुन निर्माणमा ढिलाइ भएको भन्ने लाग्छ । 

“संविधान अनुकूलका कानुन बनाउन ढिलाइ हुनुमा दोषी सरकार हो, त्यसको दोषी संसद् र सांसद होइन”, नेत्री रावलले थपिन्, “विधेयक अधिवेशनमा जम्मा एउटा मिटरब्याजी सम्बन्धी कानुन बन्यो, राष्ट्रियसभामा मर्यादासम्बन्धी नीति विधेयक ल्यायौँ, राष्ट्रियसभाले सर्वसम्मत पारित गरेको विधेयक प्रतिनिधिसभामा रोकिएर शून्यतामा गयो, राज्यको त्यत्रो लगानी खेर गयो, जुन गम्भीर विषय हो ।”
    
सदनलाई विजनेस नभएपछि शून्य समय र विशेष समयमै एकले अर्कालाई आरोपप्रत्योरोप गर्दै बित्ने गरेको उनले बताएकी छन ।  नेत्री रावललाई राष्ट्रको महत्वपूर्ण नीतिहरु एकरुपता बनाउन जरुरी छ भन्ने लाग्छ । 

“सरकार परिर्वतन हुने बित्तिकै परराष्ट्र नीति, आर्थिक नीति वा स्वास्थ्य नीति पनि परिर्वतन हुने गरेका छन्, जुन असाध्यै दुःखद् कुरा हो ।”

नेत्री रावलले भनिन्,, “स्थायी खालको नीति बनाउन जरुरी छ, जुन सरकार आए पनि नीति र पूर्वाधार विकासमा एकरुपता र ध्यान दिन जरुरी छ, राष्ट्रिय महत्वको विषयमा एकताबद्ध हुँदा प्रणाली पनि बलियो हुन्छ ।”
    
अरुले झट्ट हेर्दा सांसदले काम गरेनन भन्नेजस्तो देखिए पनि सांसदले मात्र केही गर्न नसक्ने नेत्री रावलको बुझाइ छ । 

बोली र व्यवहारमा एकरुपता ल्याएर काम गरेमा सांसदले बेकारको गाली खान नपर्ने उनको बुझाइ छ । जनताका प्रतिनिधिले संसदीय मूल्य र मान्यताको ख्याल गर्नुपर्ने हुन्छ । 

“जनप्रतिनिधिले बोल्दा प्रत्यक्ष प्रसारण हुन्छ, संसारभर जान्छ, बोली र गोली चाँहि फर्काउन सकिँदैन”, नेत्री रावलले थपिन,  “रेर्कडबाट हटाउनुपर्ने गरी किन बोल्ने ? त्यो राम्रो होइन, त्यसरी बोल्नु हुँदैन, शिष्ट र मर्यादित भएर पनि आफ्ना कुरा राख्न सकिन्छ, जनप्रतिनिधिले मर्यादालाई ध्यान दिनुपर्छ, नत्र जनताले के सिक्ने ?”
   
एउटा विधायक भएर जति काम सकियो त्यसमा उनलाई खुसी लागेको छ । कानुन बनाउने, अझ राम्रो बनाउन संशोधन हाल्नेदेखि लिएर समितिको सभापति भएर निकै मेहनतपूर्वक काम गरेको उनको अनुभव छ ।

“संसद्मा सक्तापक्ष र प्रतिपक्ष भए पनि समितिमा सबै सर्वसम्मत तरिकाले सौहार्दपूूर्ण वातावरणमा काम गर्ने अवसर पाउँदा मलाई खुसी छ”, उनले हर्षित मुद्रामा भनिन्, , “साझा उद्देश्य थियो, कुनै पनि दलको असहयोग भएन, हरेक निर्णय सर्वसम्मत भयो, सधैँ हार्दिकताका साथ काम गरियो ।” 

उनलाई जनता र देशका लागि अझ धेरै गर्न बाँकी छ जस्तो लागेको छ । सांसदको भूमिका तत्काल लागि सकिए पनि जनताको सवालमा अझै केही गर्न मन छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार