२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

हाम्रा - गाउँघर 

जुम्ला आउने पर्यटकको कोसेली  : " अर्गानिक फापर, कोदोको पीठाे अनि मार्सी चामल "

कोदोको पिठो किन्ने आन्तरिक पर्यटकको घुइँचो

आइतवार , मंसिर १०, २०८०

 

जुम्ला, मङ्सिर । जुम्लाको अर्गानिक कोसेली यहाँ आउने पर्यटनको रोजाइमा पर्ने गरेको छ ।  यहाँको मार्सी चामल, स्याउको चुना, फापर तथा कोदोको पिठो आन्तरिक पर्यटनको रोजाइमा पर्ने गरेको सदरमुकाम खलङ्गास्थित रारा अर्गानिक पसलका सञ्चालक अर्जुन बुढाले बताए ।  
  
घुम्नका लागि उपयुक्त मानिने यो समयमा मुगु जिल्लामा रहेको रारा ताल पुगेर फर्केका अधिकांश आन्तरिक पर्यटनको मुख्य रोजाइ अर्गानिक सिमीको दालसँगै मार्सी चामलको खाना हुने गरेको यहाँस्थित दौतरी होटलका सञ्चालक पदम महतले जानकारी दिए ।  

रारा घुमेर फर्किदा सदरमुकामबाट २० किलो कोदोलगायत अर्गानिक खाद्यान्न किनेको बुटवलका रमेश केसीले बताए ।

कोदोको रोटी, ढिँडो र केक बनाएर खान मिल्नुका साथै स्वास्थ्यका लागि पनि फाइदाजनक हुने भएकाले किनेको उनको भनाइ थियो ।

खलङ्गास्थित चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले खोलेको अर्गानिक मिनी मार्केटमा कोदोको पिठो किन्ने आन्तरिक पर्यटकको घुइँचो हुने गरेको मार्केटका व्यवस्थापक ऋषिराम पाण्डेले बताए । 

“दुई वर्षअघिसम्म कोदाको दाना बेच्ने गरेका थियौँ । अहिले किसानसँग पिठो खरिद गरी बेच्ने गरेका छौँ”, उनले भने, “किसानको घरदैलोमा पुगेर कोदो, फापरको पिठो किनेर ल्याउने गरेका छौँ ।”

चन्दननाथ नगरपालिका–८ कोटिलाका धर्मराज बोहोरा कोदो खेती गर्ने किसान हुन् । अधिकांश बारीमा कोदो रोपिएको उहाँले जनाउँदै करिब ८० किलो पिठो बिचेर रू आठ हजार आम्दानी भएको बताए ।  

उनका अनुसार कोदो र स्याउखेतीबाट आएको आम्दानीले घरखर्च चलेको छ । कोदोको पिठो बेचेर छोराछोरीको पढाइ र घरखर्च चलिरहेको तिला गाउँपालिका–१ का किसान शेर रावतले बताए ।

पर्यटकले पिठो लिने गरेकाले बजारको कुनै समस्या नभएको उनको भनाइ थियो । उनका अनुसार जुम्लामा चैत–वैशाखमा कोदो रोपेर असोजमा भित्राइन्छ । 

यस वर्षमा तीन सय किलो कोदोको पिठो बिक्री भइसकेको चन्दननाथ अर्गानिक मिनी मार्केटले जनाएको छ मार्केटले किसानबाट कोदोको पिठो रू एक सयमा किनेर उपभोक्तालाई रू १५० मा उपलब्ध गराउँदै आएको जनाएको छ ।

कोदोको अत्यधिक माग भए पनि यसको संरक्षणमा यहाँका स्थानीय तहले कुनै नीति तथा कार्यक्रममा चासो नदिएको तिला गाउँपालिकाका स्थानीयवासी नौशेर रावतले बताए । नेपालको पहाड र तराई दुवै क्षेत्रमा कोदोको खेती हुने गरेको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार