२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज हरिबोधनी एकादशी

' काठमाडौँसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो '

बिहिवार , मंसिर ७, २०८०

काठमाडौँ,मङ्सिर । आज हरिबोधनी एकादशी अर्थात् देवउठनी एकादशी भनिन्छ ।यस दिन  काठमाडौँ उपत्यकाका चार नारायण चाँगुनारायण, इचङ्गु नारायण, विशङ्खुनारायण र शेषनारायण लगायत देशभरका विष्णु भगवानका मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । 

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाउन लागिएको हो ।
 
काठमाडौँका पशुपतिनाथ र बूढानीलकण्ठ मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरु पूजा गर्न र तोरण टाँग्न भेला भएका देखिएको थियो ।
 
आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधिअनुसार पूजाआजा गरी आज दामोदरसँग तुलसीको विवाह गरिदिने प्रचलन छ ।
 
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु भगवान् आज ब्युँझनु हुने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।
 
चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै सोहीअनुसार हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा आज तुलसीको पूजा गर्ने प्रचलन छ ।
 
मठलाई गाईको गोबर र रातो माटोले पोतेर सिँगारेपछि फूलको माला लगाइदिएर तुलसीको विवाह गर्ने गरिन्छ ।
तुलसीलाई विष्णुप्रिया पनि भन्ने गरिएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा रहिआएको हो ।
 
विष्णु भगवानको प्रतिकका रुपमा तुलसीको तुलसीको मठको नजिकै पारेर निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । हरेक वर्षको कार्तिक महिनाभर देवीदेवताहरु तुलसीमै बास गर्छन् भन्ने धार्मिक विश्वास पनि रहिआएको छ ।
 
हरिबोधिनी एकादशीलाई वर्षभरका अरु एकादशीमध्ये सबैभन्दा महत्वपूर्ण मान्ने गरिन्छ । यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिने गरिन्छ ।
 
नारायणको पूजा गरी आजको दिन भक्तजनहरु फलाहार गर्ने गर्दछन् । आज सखरखण्ड, पिँडालु, गिठालगायतका कन्दमूल र फलफूल प्रसादका रुपमा खाने गरिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार