काठमाडौँ, मंसीर । अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै विश्वकप क्रिकेट जितेको छ । भारतको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको फाइनलमा भारतलाई हराएसँगै अस्ट्रेलियाले छैटौंपटक विश्वकप उपाधी हासिल गर्न सफल भएको हो ।
अस्ट्रेलियाले ४३ ओभरमा भारतले दिएको २४१ रनको लक्ष्य हासिल गर्न सफल भएको हो । पहिलो तीन विकेट ४७ रनमा गुमाएपनि ट्राभिस हेड र मार्नुस लबुस्चग्नेले अस्ट्रेलियाको पारीलाई सम्हाल्दै लगेका थिए ।
ट्राभिसले विश्वकपको फाइनल खेलमा सतकीय पारी खेले । उनले १२० बलमा १३७ रन बनाए । यस्तै, मार्नुसले पनि आफ्नो अर्धसतक पुरा गर्न सफल भएका थिए । उनले ११० बलमा ५८ रन बनाएर अविजित रहे ।
अस्ट्रेलियाले पहिलो विकेटका रुपमा डेभिड वार्नरलाई मात्र ७ रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । मोहम्मद सामीको बलमा विराट कोहलीले उनलाई स्लिपमा क्याच आउट गरेका थिए ।
यस्तै मिचेल मार्सले पनि अस्ट्रेलियाको योगफलमा केवल १५ रन मात्रै जोड्न सके । उनी जसप्रित बुमराहको बलमा आउट भए । बुमराहले नै स्टिभन स्मिथलाई पनि केवल ४ रनमा पेभेलियनको बाटो देखाएका थिए । विश्वकप फाइनलमा अस्ट्रेलियाले टस जितेपछि भारतलाई पहिलो ब्याटिङ गर्न बोलाएको थियो।
भारतका स्टार ब्याट्स्म्यानहरूले सोचे अनुरुपको खेल विश्वकपको फाइनलमा प्रदर्शन गर्न नसकेपछि अस्ट्रेलियाले मात्र २४१ रनको लक्ष्य प्राप्त गरेको थियो। भारतीय ब्याटिङ क्रम अस्ट्रेलियाको बलिङ अगाडि निरिह बनेसँगै अस्ट्रेलियाली टोलीले भारतमाथि खेलको सुरु देखि नै दबाब कायम गर्न सफल भएको थियो।
भारतले ४९.५ ओभरमा सबै विकेट गुमाएर केवल २४० रन बनाउन सक्यो । रोहित शर्माको अपराजित टोली भारतले आइतबार एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भने अस्ट्रेलियाको अगाडि कमजोर योगफल खडा गरेको हो।
१० वर्षे उपाधि खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा उत्रिएको भारतीय टोलीले करिब १ लाख ३० हजार दर्शकका अगाडि फितलो प्रदर्शन गरेको हो। भारतका ओपनर शुभमन गिल मात्र ४ रन बनाएर मिचेल स्टार्कको बलमा आउट भएका थिए ।
३० रनमा पहिलो विकेट गुमाएको भारतले दोस्रो विकेट ७६ रनमा गुमाएको थियो। भारतीय कप्तान रोहित शर्मा अर्ध सतक बनाउन केवल ३ रनले चुके। उनले ३१ बलमा ४७ रन बनाउँदा म्याक्सवेलको बलमा ट्राभिसद्वारा मिड अफमा उत्कृष्ट क्याच गरेपछि पेभेलियन फर्किएका थिए ।
त्यसपछि ब्याटिङमा आएरुका श्रेयस अैय्यर पनि मात्र ४ रन बनाएर आउट भएपछि भारतमाथि दबाब बढ्न थालेको थियो। विराट कोहली र केएल राहुलले सम्हालिएको पारी खेलिरहेको अवस्थामा कोहली ५४ रनको व्यक्तिगत स्कोरमा क्युम्मिन्सको बलमा बोल्ड भएपछि भारतको ठूलो योगफल खडा गर्ने सम्भावना क्षिण हुँदै गएको थियो।
यद्यपी केएल राहुल फाइनल खेलमा चुनौती पूर्ण लक्ष्य दिनका लागि प्रयास गरेपनि उनी ६६ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका थिए । अन्य ब्याट्स्म्यानहरु पनि सस्तोमै पेभेलियन फर्किएका थिए । अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ३ तथा जोस हेजलवुड र प्याट क्युम्मिन्सले २-२ विकेट लिएका थिए।