२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

काष्ठमण्डपमा अञ्जली दिदीको सामूहिक भाइटीका

बुधवार , कार्तिक २९, २०८०

 

काठमाडौँ, कात्तिक । काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डपमा अञ्जली दिदी (मास्के) ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिनुभएको छ ।

विसं २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आउनुभएका अञ्जली दिदीले आज करिब दुई सय बढी दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिनुभयो । 

दिदीसँग टीका लगाउन विभिन्न उमेर समूहका दाजुभाइ काष्ठमण्डपको मरु सत्तलमा भेला हुनुभएको थियो । काष्ठमण्डपमा सामूहिक टीका लागि एक सय ५० बढी मण्डप बनाइएको अञ्जलीले जानकारी दिनुभयो ।

 दिदीबहिनी नभएका दाजुभाइको निधार खाली नहोस् भनेर आफूले तिहारको टीका लगाइदिएको उहाँको भनाइ छ । 

आफूले यही स्थानमा निरन्तर २५ वर्षदेखि सामूहिक भाइटीका लगाइदिँदै आएको जानकारी दिँदै दिदीले यस वर्ष पनि उही सम्मान, माया र निःस्वार्थ भावले टीका लगाइदिन पाउँदा अत्यन्त खुसी भएको बताउनुभयो । 

अञ्जली दिदीले २५ वर्षसम्म निरन्तर आफूसँग तिहारको टीका लगाउने दाजुभाइलाई विशेष उपहार प्रदान गर्नुभएको थियो । 

काठमाडौँको मरु निवासी नरेश श्रेष्ठ अञ्जली दिँदीसँग सप्तरङ्गी टीका लगाउन पाउन प्रशन्न हुनुहुन्थ्यो । उहाँले तिहारमा निधार खाली तथा मन खल्लो नहोस् भनेर अञ्जली दिदीसँग टीका लगाउन आएको बताउनुभयो । 

मण्डपमा बसेका दाजुभाइलाई अञ्जली दिदीले सप्तरङ्गी टीका, माला र सगुन प्रदान गर्नुभएको थियो । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार