भेरीगङ्गा (सुर्खेत), कात्तिक । जाजरकोट भूकम्पका कारण करिब ३० हजार गर्भवती, सुत्केरी र बालबालिका प्रभावित भएका छन् । यो प्रदेशको कुल जनसङ्ख्याको २२ प्रतिशत हो ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशानालयका अनुसार सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका गरी २९ हजार ९८२ प्रभावित भएका हुन् ।
सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रवीन खड्काले जानकारी दिए ।
उनका अनुसार भूकम्पका कारण पाँच वर्षमुनिका मात्रै १९ हजार २९६ बालबालिका प्रभावित भएका छन् भने पाँच हजार ३४३ स्तनपान गराइरहेका गर्भवती प्रभावित भएका छन् ।
तीन हजार ३१७ गर्भवती प्रभावित हुँदा दुई हजार २६ स्तनपान गराइरहेका महिला प्रभावित भएको तथ्याङ्कमा जनाइएको छ ।
भूकम्पले जाजरकोट र रुकुमपश्चिममा धेरै नागरिक प्रभावित भएका छन् । गर्भवती, सुत्केरी र पाँच वर्षमुनिका बालबालिका झनै समस्यामा परेको डा खड्काले बताए ।
४८ स्वास्थ्य संस्थामा क्षति
भूकम्पबाट जाजरकोट, रुकुमपश्चिममा र सल्यानमा गरी ४८ स्वास्थ्य संस्थामा क्षति पुगेको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार सबैभन्दा धेरै क्षति रुकुम पश्चिममा भएको छ ।
रुकुमपश्चिममा रहेका एक सय ११ स्वास्थ्य संस्थामध्ये २४ वटामा क्षति पुगेको छ । जसअन्तर्गत दुई वटा पूर्णरूपमा र २२ वटा आशिंकरूपमा क्षति पुगेको निर्देशक डा खड्काले बताए ।
जाजरकोटमा १३३ स्वास्थ्य संस्थामध्ये १८ वटा क्षति भएका छन् । छ वटा पूर्णरूपमा ध्वस्त भएका छन् भने १२ वटा आशिंकरूपमा क्षति पुगेको छ ।
यता, सल्यानका १५५ स्वास्थ्य संस्थामध्ये तीन वटा पूर्ण र तीन वटा आशिंकरूपमा क्षति भएको उनले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी स्वास्थ्य चौकी ध्वस्त भएको छ ।
मृत्यु हुनेमा बालबालिका धेरै
स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्क अनुसार भूकम्पमा परी मृत्यु हुनेमा बालबालिका धेरै रहेका छन् । अठार वर्षभन्दा कम उमेर समूहका ९५ बालबालिकाले भूकम्पमा परी ज्यान गुमाउनु परेको हो ।
अध्यावधिक विवरण अनुसार पाँच वर्ष मुनिका मात्रै २४ बालबालिकाको मृत्यु भएको छ तीमध्ये १४ बालक छन् भने १० बालिका रहेका छन् ।
अठार वर्षमुनिका र पाँच वर्षमाथिका ७१ जनाको मृत्यु भएको तथ्याङ्कमा जनाइएको छ । तीमध्ये ३७ पुरुष र ३४ महिला रहेको निर्देशक डा खड्काले बताए ।
मृत्यु भएका अन्य ५८ जना १८ वर्षमाथिका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस क्षेत्रमा विभिन्न प्रकोप फैलिन सक्नेतर्फ आफू सचेत रहेको भन्दै सम्भव भएसम्म स्वास्थ्य सेवा सुचारु गरिएको निर्देशक खड्काले बताए ।
पानीजन्य रोग लाग्न नदिन भूकम्प प्रभावित क्षेत्रमा पानीको शुद्धता परीक्षण सुरु गरिएको भन्दै उनले त्यहाँ स्वास्थ्यकर्मी खटाइएको जानकारी दिएका छन ।