२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जाजरकोट भूकम्प

' प्रभावितको उद्धार सक्यौँ, राहत र पुनःस्थापना जुटेका छौँ’ : नगर प्रमुख घर्ती

भौतिक क्षतिको विवरण सङ्कलनका लागि वडा कार्यालयलाई परिचालित

शनिवार , कार्तिक १८, २०८०

 

काठमाडौँ, कात्तिक ।  " उद्धार सक्यौँ । अब राहतका लागि दौडिरहेका छौँ । विस्थापित परिवारलाई कहाँ राख्ने, के खुवाउने, कसरी सुताउने भनेर लागिपरेका छौँ । नगर क्षेत्रका प्रायः घर क्षतिग्रस्त भएका छन् । लत्ता कपडा, भाँडाकुडा, खाद्यान्न नष्ट भएका छन् । "

"प्रभावितलाई बेलुकीको खाना कसरी खुवाउने तथा कसरी बसाउने भन्ने चिन्ता थपिएको छ । भूकम्पबाट प्रभावित सबै जना खुला चौर तथा सडकमा बसिरहेका छन । राहतका लागि ध्यान केन्द्रित गरेका छौँ । "

भूकम्पबाट सबैभन्दा बढी भेरी नगरपालिकामा मानवीय तथा भौतिक क्षति भएको छ । नगरपालिकाको वडा नं १ र ३ मा बढी क्षति भएको छ ।  अहिलेसम्म ४५ जनाको मृत्यु भइसकेको छ । अझै केही शव सङ्कलनकै क्रममा छ । 

अझै १०/१५ वटा शव थपिन सक्ने देखिएको छ । भेरी नगरपालिकामा मात्रै ५५ देखि ६० जनाको मृत्यु भएको अनुमान गरिएको छ ।  १३४ जनाभन्दा बढी घाइते भएका छन । 

गए राति ११ः४७ मा भूकम्प गयो । हामी राति १२ बजेदेखि नै उद्धारमा खटियौँ ।
 
स्थानीय सरकार, जिल्ला सदरमुकाममा केन्द्रित सम्पूर्ण सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, राजनीतिक दलका नेता तथा कार्यकर्ता, नागरिक समाज, युवालगायतको सहभागितामा उद्धार गर्‍यौँ  । सबैको सामूहिक प्रयासबाट उद्धार सम्भव भयो । 

घाइतेको खोजी, प्रारम्भिक उपचार गरी थप उपचारका लागि सुर्खेत र नेपालगन्जका अस्पतालमा पठाउने काम बिहान ७ बजेसम्म गरिसकेका थियौँ ।  रातभर नसुती सबै टोली खटियौँ । सबैको सामूहिक प्रयासबाट त्यो सम्भव भयो । 

सम्पूर्ण घाइतेको उपचार भइरहेको छ । मृतकको शव परीक्षण जारी छ । परीक्षण भइसकेका शव परिवारको जिम्मा लगाइएको छ । मृतकको सङ्ख्या ठूलो भएकाले शव परीक्षणमा संलग्न चिकित्सक दबाबमा हुनुहुन्छ । 

अस्पतालमा औषधिको कुनै कमि हुन दिइएको छैन । सङ्घ र प्रदेशबाट चिकित्सकसहित औषधि प्राप्त भएको छ । सङ्घ र प्रदेश सरकारको सहयोगलाई हामी सम्मान गर्छौँ । 

अब राहतको तनाव भएको छ । विस्थापितलाई खाने बस्नेको व्यवस्था मिलाउन लागिएको छ । बेलुकी खुला आकाशमा कसरी सुताउने, के खुवाउने, कम्बल, त्रिपाल कसरी व्यवस्था गर्ने भनेर लागि रहेका छौँ । 

पूर्ण र आंक्षिक क्षति भएका घरको तथ्याङ्क सङ्कलन भइरहेको छ । भौतिक क्षतिको विवरण सङ्कलनका लागि वडा कार्यालयलाई परिचालित गरेका छौँ । 

मृतक र घाइतेको सङ्ख्या साँझसम्म पुष्टि भइसक्छ । भौतिक क्षतिको विवरण आउन केही दिन लाग्न सक्छ । वडा नं ४ मा रहेका पूराना घरहरु सबै क्षतिग्रस्त भएका छन् । अन्य घरमा पनि आंशिक क्षति पुगेको छ । घरमा फर्केर जान जनता चाहिरहेका छैनन् । 

पहिलो चरणमा प्रभावितलाई राहत विरतण गर्छौँ । पीडितलाई मलहमपट्टी लगाउँदै छौँ । त्यसपछि पुनःस्थापनामा ध्यान दिनेछौँ । 

राहतका लागि विभिन्न सङ्घसंस्थालाई अनुरोध गरेका छौँ । नगरपालिकाले आफ्नो साधनस्रोत परिचालन गरी जनतालाई सहयोग गर्छ । सङ्घ र प्रदेश सरकारलाई पनि सहयोगको अनुरोध गरेका छौँ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रभावित क्षेत्रको अवलोकन गरेर फर्केका छन। विश्वास छ, सङ्घीय सरकारले ठूलो सहयोग गर्नेछ । 

(चन्द्रप्रकाश घर्ती, प्रमुख, भेरी नगरपालिका, जाजरकोट )

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार