२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

अमेरिकामा बन्दुक आक्रमण

अमेरिका प्रहरीले भन्याे  : "  कम्तीमा १६ जनाको मृत्यु,  राज्यभरि त्रास "

शुक्रवार , कार्तिक १०, २०८०

 

संयुक्त राज्य अमेरिकाको मेइन राज्यस्थित लुविस्टन सहरमा एक बन्दुकधारीको आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको खबर आएको त्यहाँको प्रहरीले जनाएको छ।

उक्त बन्दुकधारी अझै पनि खुला रूपमा हिँडिरहेकाले त्यहाँका बासिन्दासँगै नजिकैको लिज्बन सहरका बासिन्दालाई पनि सुरक्षित स्थानमा रहन भनिएको छ।

प्रहरीले उक्त व्यक्ति ४० वर्षे रोबर्ट कार्ड हुन सक्ने भनी खोजी सुरु गरेको छ।

राष्ट्रपति जो बाइडनलाई पनि उक्त घटनाबारे सूचित गरिएको र उनले यसबारे निरन्तर जानकारी लिने उनको कार्यालय ह्वाइट हाउसले जनाएको छ।

अधिकारीहरूले मृतकको सङ्ख्या यकिन नगरे पनि बीबीसीको अमेरिकी साझेदार सीबीएसले केही अधिकारीहरूसँग कुरा गरी कम्तीमा १६ को मृत्यु भएको जनाएको छ।

राज्यभरि त्रास

आक्रमणमा परी कम्तीमा ५० जना घाइते भएको भनी फरकफरक विवरण प्राप्त भएका छन् तर तिनको पुष्टि हुन सकेको छैन।

लुविस्टनको सिटी काउन्सलका लागि चुनाव लड्ने तयारीका रहेकी बिल्ली जेन कूकले उक्त आक्रमणको जानकारी पाउँदा आफू एउटा कार्यक्रमबाट निस्कने क्रममा रहेको बताइन्।

'घरसम्मको यात्रामा मैले साइरन मात्र सुनेँ, एकपछि अर्को,' उनले भनिन्।

'हेलिकप्टर, साइरन ... यो सहरमा अहिलेसम्म यस्तो चहल पहल मैले सुनेकी थिइनँ। राज्यभरिका प्रहरी यहीँ जम्मा भएका छन् र राज्य बाहिरबाट पनि आउँदै छन्।'

'सहर लकडाउनमा छ। एकदमै डरलाग्दो छ। यस्तो होला भनेर तपाईँ सोच्नै सक्नुहुन्न तर यस्तै भयो।'

यसअघि ट्विटर भनिने सामाजिक सञ्जाल एक्समा मेइन राज्य प्रहरीले भनेको छ, लुविस्टनमा एउटा शूटर सक्रिय छ।

'हामी मानिसहरूलाई घरभित्रै बस्न आग्रह गर्दछौँ। कृपया ढोका बन्द गरेर घरभित्रै बस्नुहोला।'

आक्रमणकारी को हुन् ?

मेइनको सार्वजनिक सुरक्षा विभागका आयुक्त माइकल सशकका अनुसार स्थानीय समय अनुसर बुधवार साँझ ६ः५६ बजे आक्रमण सुरु भएको थियो। आक्रमणमा परी 'धेरै जना हताहत ' भएका थिए।

सेन्ट्रल मेइन मेडिकल सेन्टरका अनुसार घाइतेको उपचारका लागि यस क्षेत्रका अन्य अस्पतालहरूसँग समन्वय भइरहेको छ।

एन्ड्रोस्कोगिन काउन्टी शेरिफ कार्यालयले सन्दिग्ध आक्रमणकारीको दुई ओटा तस्बिर सार्वजनिक गरेको छ। 

उनी अझै पनि खुला हिँडडुल गरिरहेको बताउँदै उनको पहिचानका लागि सर्वसाधारणसँग सहयोग मागेको छ।

सन्दिग्ध व्यक्ति मेइनको साको सहरस्थित एक केन्द्रमा अमेरिकी सेनाबाट तालिम पाएका प्रशिक्षक रहेको राज्यको प्रहरीले आफ्नो विवरणमा उल्लेख गरेको असोसिएटिड प्रेसले जनाएको छ।

प्रहरी बुलेटिनका अनुसार यसै वर्षको गर्मीयाममा उनले एक मानसिक स्वास्थ्य केन्द्रमा बसेका थिए र त्यहाँ गोलीबारीको चेतावनी दिएका थिए।

प्रहरीले सेतो रङ्गको एउटा गाडीको तस्बिर सार्वजनिक गर्दै त्यसको अगाडीपट्टिको बम्पर कालो रङ्गको भएको हुन सक्ने भन्दै त्यसको पहिचान गर्ने जोकोहीलाई प्रहरीलाई सम्पर्क गर्न भनेको छ।

लुविस्टनका सार्वजनिक विद्यालय सुपरिवेक्षक जेक लङ्ग्लेईले एक विज्ञप्तिमार्फत् त्यस क्षेत्रका विद्यालयहरू बिहीवारसम्म बन्द रहने बताएका छन्।

अमेरिकाको आन्तरिक सुरक्षा मन्त्रालयले एक विज्ञप्तिमार्फत् मन्त्री अलेहान्ड्रो मायोकासले यस घटनापछिको अवस्थालाई नियालिरहेको जनाएको छ।

'मन्त्रालयले लुविस्टनका समुदायलाई सहायता गर्न हाम्रा सङ्घीय, राज्य र स्थानीय साझेदारहरूसँग निकट रूपमा काम गरिरहेको छ,' उक्त विज्ञप्तिमा भनिएको छ।

अमेरिकी न्याय मन्त्रालयको एक विज्ञप्तिमा सङ्घीय निकायहरूले राज्य र स्थानीय तहको कानुन कार्यान्वयनमा सघाइरहेको जनाएको छ।

राष्ट्रपति जो बाइडनले फोनमार्फत् मेइनका गभर्नर ज्यानेट मिल्स, माथिल्लो सदन सिनेटका सांसदहरू एङ्गस किङ र सुसन कोलिन्स तथा तल्लो सदनका सांसद जरेड गोल्डनसँग संवाद गरेका छन्।

लुविस्टनको जनसङ्ख्या झन्डै ३८ हजार  छ र यो पोर्टल्यान्डपछि मेइनको दोस्रो ठूलो सहर हो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार