२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

खाद्य व्यवस्था कम्पनी

दशैँमा खसी बोका  : "  उपभोक्तालाई थप सहुलियत दिन घटायो मूल्य "

जीउँदो खसी बोका प्रतिकिलो ६५०, च्याङ्ग्रा एक हजार २२५ मा बिक्री

शुक्रवार , कार्तिक ३, २०८०

 

काठमाडौँ,  कात्तिक । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्तालाई थप सहुलियत प्रदान गर्न खसीबोका तथा च्याङ्ग्राको मूल्य घटाएको छ । 

कम्पनीले जीउँदो खसी बोका तथा च्याङ्ग्राको मूल्यमा प्रतिकिलो रु १० छुट दिएको हो । कम्पनीले आजदेखि जीउँदो खसीबोका प्रतिकिलो रु ६५० तथा च्याङ्ग्रा प्रतिकिलो रु एक हजार २२५ मा बिक्री गर्न थालेको छ । 

खाद्यले यसअघि जीउँदो खसीबोका प्रतिकिलो रु १० छुट दिएर रु  ६७० तथा च्याङ्ग्रा रु एक हजार २५० मा बिक्री गर्दै आएको थियो । 

पशुचौपायाको खरिद बिक्रीमा उपभोक्ताको उल्लेख्य सहभागिता नदेखिएको र लामो समयसम्म खसी बोका तथा च्याङ्ग्रा पाल्दा खर्च बढ्ने भएकाले मूल्य घटाएर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । 

उपभोक्तालाई थप सहुलियत दिने उद्देश्यले जीउँदो खसी बोका तथा च्याङ्ग्राको मूल्य घटाइएको कम्पनीको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताए ।  

खाद्यले गत असोज ३० गतेदेखि थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको छ ।

 खाद्यले मकवानपुर, दाङ र कैलालीबाट एक हजार छ सय ५८ खसी बोका तथा रसुवाबाट ५५४ च्याङ्ग्रा खरिद गरेर ल्याएको थियो । हालसम्म ६३० वटा मात्रै खसीबोका तथा च्याङ्ग्रा बिक्री भएको कम्पनीले जनाएको छ । 

अझै एक हजार ५८२ खसीबोका बिक्री हुन बाँकी छ । फुलपाती र अष्टमीमा खसी बोका तथा च्याङ्ग्राको बिक्री हुने गर्छ । 

“आज, फूलपाती र अष्टमीमा खसी बोकाको बिक्री हुने हो, लामो समयम्म राख्दा दानापानी तथा स्याहार सुसारमा खर्च गर्नुपर्ने अवस्था आउने भएकाले उपभोक्ता मूल्यमा थप छुट दिइएको हो”, सूचना अधिकारी न्यौपानेले बताए । 

काठमाडौँ उपत्यकामा उपभोक्तालाई सहुलियत मूल्यमा स्वस्थ खसीबोका तथा च्याङ्ग्रा उपलब्ध गराई मासुजन्य पदार्थको मूल्य स्थिरीकरण गर्ने उद्देशयले कम्पनीले खसी बोका बिक्री गर्दै आइरहेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार