२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

धर्मका नाममा अबैध गतिविधि बढ्दो

धार्मिक अगुवाहरूको अपिल :   " मुलुकमा धार्मिक सद्भाव कायम राखौ " 

शुक्रवार , आश्विन ५, २०८०


धर्मका नाममा अबैध गतिविधि बढ्दो
धार्मिक अगुवाहरूको अपिल :   " मुलुकमा धार्मिक सद्भाव कायम राखौ " 

काठमाडौँ, असोज । धार्मिक अगुवाहरूले मुलुकमा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन् ।  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शुक्रबार गृह मन्त्रालयमा विभिन्न धर्मसँग सम्बन्धित अगुवा संस्थाका प्रमुखको बैठकपछि उनीहरूले संयुक्त अपिल जारी गरेका हुन् ।

धार्मिक अगुवाहरूले कुनै पनि असंवैधानिक तथा गैरकानुनी क्रियाकलापमा कोही पनि सहभागी नहुन र धार्मिक, सामाजिक एवं सांस्कृतिक सद्भाव प्रवर्द्धनमा क्रियाशील रहन आह्वान गरेका छन् । 

कतिपय ठाउँमा उच्छृंखल तथा अराजकरूपमा प्रस्तुत भई फरक धर्म सम्प्रदायको आस्था, व्यवहार, संस्कार र प्रचलनमा आघात पुर्‍याउने गतिविधि देखा परेकामा उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

image 2.jpg

धार्मिक अगुवाले नेपालको इतिहास, परम्परा र विगतदेखि नै एक आपसमा मिलिजुली बस्ने सद्भावपूर्ण समाजलाई विथोल्ने गरी धर्म तथा सम्प्रदायका नाममा हुने असंवैधानिक तथा गैरकानुनी क्रियाकलापप्रति असहमति प्रकट गरेका छन् । 

अपिलमा नेपाल एक सार्वभौमसत्ता सम्पन्न बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त देश भएको र कुनैपनि धर्म, सम्प्रदाय, जाति, क्षेत्र एवं लिंगको आपसी सम्मान अभिवृद्धि गर्नु, आपसी सद्भाव कायम गर्नु धार्मिक संस्कार रहेको उल्लेख छ ।

अर्को धर्म सम्प्रदायप्रति घृणा द्वेष फैलिने कुनै पनि कार्य नगर्नु, अर्को धर्म सम्प्रदायको आत्मसम्मानमा चोट पुग्ने कुनै पनि गतिविधि नगर्नु धार्मिक मान्यता रहेको पनि उनीहरुले स्मरण गराएका छन् । 

विगत केही दिनयता देशका विभिन्न भागमा धर्म, जाति, सम्प्रदायको आधारमा एक अर्काप्रति घृणा र द्वेष फैलाउने, फरक धर्म, जाति तथा सम्प्रदायलाई चोट पुग्ने गरी गतिविधि भइरहेकामा धार्मिक अगुवाको ध्यानाकर्षण भएको अपिलमा जनाइएको छ ।

अपिलमा विश्व हिन्दु महासंघ राष्ट्रिय समिति, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समिति, नेपाल सनातन धर्म संस्कृति संगठन, हिन्दु जागरण नेपाल, विश्व हिन्दु परिषद् नेपाल, श्रीकृष्ण प्रणामी सेवा समिति, नेपाल बौद्ध महासंघ, नेपाल तामाङ बौद्ध गुम्बा सेवा समाज र नेपाल परम्परागत बौद्ध धर्म संघका प्रमुख तथा प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

यस्तै अखिल नेपाल भिक्षु महासंघ, इस्लामी संघ नेपाल, नेपाल मुस्लिम संघ, नेपाल मुस्लिम इत्तेहाद संगठन, मुस्लिम मुक्ति मोर्चा नेपाल, मर्कजी जमियत अहले हदिस, जमियत उलेमा–ए नेपाल, राष्ट्रिय क्रिश्चियन महासंघ नेपाल, नेपाल क्रिश्चियन सोसाइटी, नेशनल चर्च फेलोसिभ अफ नेपाल राष्ट्रिय नेपाली इसाई मण्डली एकता परिषद्, नेशनल सास्टर काउन्सिल नेपाल, नेपाली इसाई नागरिक संघ र नेपाल वाइबल सोसाइटीका प्रतिनिधिको पनि हस्ताक्षर छ ।

धार्मिक अगुवासँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने गतिविधि देखापरेकामा चिन्ता व्यक्त गरेका थिए । 

विश्वकै मौलिक धार्मिक सहिष्णुता भएको नेपालमा निहित उद्देश्यका निम्ति कतिपयले धार्मिक उद्दण्डता देखाएर परिस्थिति भड्काउन खोजेको हुनसक्ने जनाउँदै उनले त्यस्ता घटनाको प्रशासनिकभन्दा पनि समुदायगत समाधान दीर्घकालीन र प्रभावकारी हुने बताए ।

मुलुकको एकता र सार्वभौमिकताका लागि धार्मिक एवम् सामुदायिक एकता अपरिहार्य भएको र अगुवाहरूको पहलले समुदायमा सचेतता फैलिने विश्वास समेत उनले व्यक्त गरे ।

 

image 1.jpg
undefined
image 2.jpg
undefined

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार