राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्यूयोर्क पुगेका प्रचण्डले सन् २००८ मा राष्ट्रसङ्घका तत्कालिन महासचिव बान कि मुनसँग पनि भेट गरेका थिए ।
प्रधानमन्त्रीको आफ्नो पहिलो कार्यकालमा सन् २००८ मा राष्ट्रसङ्घको ६३ औँ महासभालाई सम्बोधन गरेका प्रचण्डले यो पालि दोस्रो पटक उक्त महासभामा सम्बोधन गर्न लागेका हुन्।
बीबीसुीका अनुसार, दश वर्षको सशस्त्र द्वन्द्वपछि शान्तिप्रक्रिया हुँदै चुनावमार्फत सरकारमा आएको पूर्व विद्रोही दलका नेताका हिसाबले त्यसबेला उनले नेपालमा भएका ऐतिहासिक परिवर्तनको चर्चा गरेका थिए।
उनले त्यसबेला आफूले सुदूरपश्चिमका दलित बालक, शोषणमा परेका पूर्वी नेपालका आदिवासी जनजाति महिला, सुकुम्बासी थारु बालिका, भूमिहीन मधेसी र फुसको छानो भएको झुप्रोमा बसिरहेका पहाडका किसानहरूका आँखामा उत्साह देखेको भन्दै नेपाललाई दिगो विकास र प्रगतिमा डोर्याउने वाचा गरेका थिए।
उति बेला नयाँ नेपालको चर्चा समेत गरेका प्रधानमन्त्रीले राष्ट्रसङ्घको महासभामा जलवायु परिवर्तन, अति कम विकसित देशका समस्या र नेपालको सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषयबारे पनि टिप्पणी गरेका थिए।
संयुक्त राष्ट्रसङ्घको महासभामा भने प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियाको अनुभव सुनाउँदै सङ्क्रमणकालिन न्यायका बाँकी काम पूरा गर्ने तयारीबारे जानकारी गराउने न्यूयोर्कमा रहेका परराष्ट्रमन्त्री एन पी साउदले बीबीसी न्यूज नेपालीलाई जानकारी दिए।
“नेपालको शान्ति प्रक्रिया महत्वपूर्ण छ। यसको अनुभवलाई सुनाउँदै सङ्क्रमणकालीन न्यायका बाँकी कामहरू संसदीय प्रक्रियाबाट अघि बढ्छ भन्ने कुरा हामी राख्छौँ,” उनले भने।