काठमाडौँ, भदौ । यो साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उतार चढाव सामान्य रह्यो । कूल चार दिनको कारोबारमा तीन दिन बढेको बजार एक दिन घटेकोे थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार शेयर बजारमा यो हप्ता चार दिनमा कूल रू पाँचअर्ब १० करोड ९५ लाख ५९ हजार ७२१ बराबरको कारोबार भएको छ ।
साताको पहिलो दिन आइतबार परिसूचक १० दशमलव २३ अङ्कले बढेर एक हजार नौ सय ४२ दशमलव ६८ पुगेर रू एक अर्ब सात करोड २२ लाख १२ हजार ४१८ मूल्य बराबरको कारोबार भएको थियो ।
उक्त दिन ३३ हजार ६४ पटकको कारोबारमा ४३ लाख १४ हजार ४१७ इकाइ शेयर कारोबार भएको थियो । त्यस्तै कारोबरको दोस्रो दिन सोमबार परिसूचक ४४ दशमलव ३० अङ्कले बढेर एक हजार ९८६ दशमलव ९९ अङ्कमा पुगेको थियो ।
यस दिन विभिन्न कम्पनीका कूल ४७ लाख ४२ हजार ५११ कित्ता शेयर ३७ हजार ७९९ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ बराबरको कारोबार भएको थियो ।
साताको काराबारमा लगातार दुई दिन बढेर तेस्रो दिनको कारोबार भने घटेको थियो । मङ्गलबार नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर एक हजार ९६७ दशमलव ४२ अङ्कको विन्दुमा आएको थियो ।
यस दिन २७६ कम्पनीका ३९ लाख १६ हजार १६१ कित्ता शेयर २६ हजार ३०२ पटक खरिद बिक्री हुँदा रू एक अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५ बराबरको कारोबार भएको छ ।
बुधबारको कारोबार मापक नेप्से परिसूचक अघिल्लो दिनका तुलनामा ३९ दशमलव ४८ अङ्कले बढेर दुई हजार सात दशमलव ०६ अङ्कमा पुगेको थियो ।
यस दिन दुई सय ७५ कम्पनीको ५१ लाख ४४ हजार ७२४ कित्ता शेयर ३६ हजार ४५ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ४९ करोड ५५ लाख २१ हजार नौ सय पाँच बराबरको कारोबार भएको थियो ।
बिहीबार संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङका निधनमा सरकारले राष्ट्रिय शोक घोषणा गरेकाले नेप्सेसमेत बन्द भएको थियो भने शुक्रबार कारोबार बन्द हुने गरेको छ ।