काठमाडौँ, भदौ । कांग्रेस महामन्त्री गगनकुमार थापाले नागरिकले लडेर देशमा लोकतन्त्र र गणतन्त्र ल्याए पनि पार्टीमा गणतन्त्र नआएको बताएका छन् । उनले अहिले पनि पार्टीमा राजतन्त्र जस्तै निरंकुशता रहेको दाबी गरे ।
पार्टीको बागलुङ क्षेत्र नम्बर–१ को क्षेत्रीय समितिले आयोजना गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्न आएका थापाले चुनावका बेला नेताले टिकट दिने पद्धति सच्याएपछि मात्र कांग्रेसमा लोकतन्त्र आउने बताए ।
‘वडा सभापति बन्न क्रियाशील कार्यकर्ताले भोट दिनुपर्ने, वडाध्यक्ष बन्न जिल्ला सभापतिले टिकट दिने यो लोकतन्त्र होइन,’ उनले भने, ‘जबसम्म टिकटका लागि दाइ र भाउजूको चाकरी गर्नुपर्छ तबसम्म पार्टीमा निरंकुशता र राजावादी सोच बाँकी रहन्छ ।’
हरेक वडा, नगर र क्षेत्रीय सम्मेलनबाट वडाध्यक्ष, मेयर र अध्यक्ष तथा प्रदेश र संघीय संसद्को उमेदवार छनौट गर्न सकेमा मात्र कांग्रेस पार्टीभित्र गणतन्त्र आउने उनको भनाइ छ ।
आगामी मंसिरमा हुने महासमितिको बैठकमा महामन्त्री थापाले उक्त एजेन्डा लगेर विधान परिवर्तन गर्न पहल गर्नेसमेत बताएका छन् । १०४ वर्षको राणा शासन र ३० वर्षको पञ्चायत फालेको कांग्रेसले आन्तरिक राजतन्त्र फाल्न नसकेको महामन्त्री थापाको टिप्पणी छ ।
‘राजाबाट सार्वभौमसत्ता जनतामा ल्यायौं, तर पार्टीभित्रको प्रवृत्तिमा परिवर्तन भएन,’ उनले भने, ‘जब कार्यकर्तामुखि कांग्रेस बन्छ तब पार्टीका नेता पनि जनमुखि बन्छन् ।’
थापाले आगामी महाधिवेशन समयमा गरेर एक वर्षभित्र क्रियाशील सदस्यता टुंगो लगाएपछि मात्र निर्वाचनमा जाने गरी फाइल पद्धति विकास गर्ने समेत बताए ।
उनले गत स्थानीय निर्वाचनको गठबन्धन लोकतन्त्रको आधारभूत मूल्य र मान्यताविपरीतको भएको पनि टिप्पणी गरे । ‘चुनावअघि गरिने गठबन्धनले लोकतन्त्रको मूल्य बिगार्छ,’ थापाले भने, ‘चुनाव जितेर पनि कार्यकर्तामा निराशा आउनुको परिणाम पनि यही हो ।’
२०८४ सालमा सबै पालिका, सबै निर्वाचन क्षेत्र हार्नु परे पनि कांग्रेसले गठबन्धन नगर्ने दाबीसमेत गरे ।
‘सबै सिट गुमाएर चकटीमा बस्नु परोस्, तर कार्यकर्ताको शीर निहुरिने गरी अर्को दललाई भोट हाल्न लगाउने गरी गठबन्धन गरिँदैन’ उनले भने, ‘सबै कम्युनिस्ट मिलून्, स्वन्तत्रहरू पनि मिलून् तर कांग्रेस एक्लै लड्छ ।’ त्यतिन्जेल एक्लै लड्न सक्ने कांग्रेस बनाउने उनले दाबी गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको सरकार ढाल्ने षडयन्त्र प्रयास हुँदैछ भन्ने अभिव्यक्तिको पनि महामन्त्री थापाले खण्डन गरे । ‘
जबसम्म कांग्रेसले साथ दिन्छ, त्यतिन्जेल प्रचण्ड प्रधानमन्त्री रहनुहुन्छ, कांग्रेसले अहिलेसम्म प्रचण्ड हटाउने निर्णय गरेको छैन,’ उनले भने, ‘जसको आडमा प्रधानमन्त्री टिकिरहनु भएको छ, उसैलाई हटाउने षड्यन्त्र गरेको भन्नु प्रधानमन्त्रीको भूल हो ।’
पार्टी र गुटको प्रतिनिधित्व गरेर गएका कांग्रेसका मन्त्रीप्रति पनि महामन्त्री थापाले कटाक्ष गरेका छन् । ‘अहिले मन्त्रीहरू बलिया छन्, किनकि गुटबाट गएका छन्,’ उनले भने, ‘गुटको भजन गाएपछि उनीहरू टिकिइरहन्छन् ।’
सके काम दिने, नसके काम गर्ने वातावरण बनाइदिने काम जनप्रतिनिधिको भएको पनि उनले बताए ।
कांग्रेसी कार्यकर्तामा अहिले जनतालाई डेलिभरी दिने भन्दा चार वर्षपछिको चुनावमा हारिन्छ कि जितिन्छ भन्ने डर पसेको भन्दै जनताको पक्षमा काम गर्दा हारे पनि जिते पनि केही फरक नपर्ने उनले सुझाव दिए ।
क्षेत्रीय सम्मेलनमा वडा–वडाबाट आएका क्षेत्रीय प्रतिनिधि, जिल्ला र प्रदेश तहका पदाधिकारी समेत गरी १ हजारभन्दा बढी सहभागी भएको सभापति चण्डीप्रसाद शर्माले बताए ।
सम्मेलनमा सभापतिको राजनीतिक प्रतिवेदन, सचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरिने कार्यक्रम रहेको शर्माले जानकारी दिए ।