काठमाडौँ, भदौ । नेपालमा डेङ्गु सङ्क्रमण बढिरहेको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म डेङ्गु सङ्क्रमण २१ हजार दुई सय छ जनामा पुष्टि भएको छ ।
महाशाखाले भदौ र असोजमा डेङ्गु सङ्क्रमण उच्च हुने प्रक्षेपण गरेको थियो । सङ्क्रमणबाट १३ जनाको निधन भएको छ ।
महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले पानी परिरहेकाले डेङ्गु सङ्क्रमण दैनिक रूपमा बढेको बताए ।
नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २०२२ मा ५४ हजार ७८४ जनामा सङ्क्रमण र ८८ जनाको मृत्यु भएको थियो ।
सुनसरीमा मात्र ११ हजार बिरामी पुगे
सङ्क्रमण देखिएकामध्ये सबभन्दा बढी सुनसरी जिल्लामा देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा ११ हजार ६५९ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।
सुनसरीपछि मोरङमा दुई हजार २४२, धादिङमा दुई हजार एक सय एक, झापामा एक हजार ३२३, काठमाडौँमा ४२७, धनकुटामा ३३६, सङ्खुवासभामा २७२, कास्कीमा २६०, दार्चुलामा १९४ र ललितपुरमा १७४ जना डेङ्गुका बिरामी भेटिएका छन् ।
डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्छ ।
–