चीनले सोमबार सार्वजनिक गरेको नयाँ नक्सा । तस्बिर ः चाइना डेली
काठमाडौँ, भदौ । चीनले भारतको अरुणाचल प्रदेशलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको छ । चीनको प्राकृतिक संसाधन मन्त्रालयले सोमबार अरुणाचल र अक्साई चीनलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको हो ।
चाइना डेलीकोे समभचारलाई उदृत गर्दै नेपालका विभिन्न दैनिक समाचारपत्र लेख्छन, उक्त नक्सालाई '२०२३ को चीनको स्टान्डर्ड 'नक्सा भनिएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने ग्लोबल टाइम्सले सामाजिक सञ्जाल एक्स(पहिले ट्विटर भनेर चिनिने) मा लेखेको छ, 'चीनको २०२३ को स्टान्डर्ड नक्सा सोमबार सार्वजनिक भएको छ ।
यो नक्सा प्राकृतिक संसाधन मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको हो । यो नक्सा चीन र विश्वका अन्य देशको ड्रइङ विधिको आधारमा बनाइएको हो ।'
undefined
चीन र भारतबीच लामो समयदेखि सीमा विवाद रहँदै आएको छ । चीनले बेला-बेलामा अरुणाचल प्रदेशका विभिन्न ठाउँलाई चिनियाँ नाम दिँदै पनि आएको छ । यही अप्रिलमा चीनको नागरिक मामिला मन्त्रालयले अरुणाचल प्रदेशका ११ स्थानाको नाम परिवर्तन गरेको थियो ।
चीनले अरुणाचल प्रदेशको ९० हजार वर्गकिलोमिटर जमिन आफ्नो भएको दाबी गर्दै आएको छ । भारतले भने चीनले पश्चिमी क्षेत्रमा करिब ३८ हजार वर्गकिलोमिटर क्षेत्रमा अवैधानिक रूपमा कब्जा जमाएको आरोप लगाउँदै आएको छ ।
दुई देशबीच पूर्वी लद्दाखलगायतका कैयौं सीमा विन्दुलाई लिएर मतभेद छ । दुवै देशका सेनाबीच झडप भएको तीन वर्ष बितिसक्दा पनि सीमा विवादको मुद्दाकै कारण दुई देशबीचको स्थिति सामान्य हुन सकेको छैन । सीमामा कुनै पनि बेला तनाव उत्पन्न हुन सक्ने संशय यथावत् छ ।
गलवान झडपमा २० जना भारतीय र ४ जना चिनियाँ सैनिक मारिएका थिए । उक्त घटनापछि सैन्यस्तरमा वार्ताहरू भएका छन् । कूटनीतिक भेटघाटहरू पनि जारी छन् । तर, वास्तविक नियन्त्रण रेखाको विषयमा कुनै सहमति जुट्न सकेको छैन ।
स्थिति पूर्ववत् अवस्थामा नफर्किएपछि भारतले सीमावर्ती क्षेत्रमा सैनिकको संख्या र सैन्य सामग्री बढाउँदै लगेको छ । भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले अगस्ट १४ मा प्रकाशित गरेको एक रिपोर्टअनुसार लद्दाख क्षेत्रमा भारतले ७० हजार हाराहारी सैनिक तैनाथ गरेको छ । त्यस्तै, ९ हजार टन सैन्य सामग्री पनि एयर लिफ्ट गरिएको छ ।
भारतले सीमा क्षेत्रसम्म पुग्ने सडक लगायतका भौतिक पूर्वाधारको सुधारमा पनि प्रशस्तै लगानी गरेको छ । चीनका तर्फ पनि ५०–६० हजार सैनिक तैनाथ गरिएको अनुमान छ ।
भारत सरकारले सीमा क्षेत्रमा शान्ति नभएसम्म चीनसँगको सम्बन्ध अगाडि बढ्न नसक्ने जनाउँदै आएको छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरले आफूहरू चीनसँग निरन्तर संवादमा रहेको र सीमामा शान्ति नभएसम्म सम्बन्धलाई अगाडि बढाउन समस्या हुने दोहोर्याउँदै आएका छन् ।
भारतले विगतमा भएका सम्झौताहरूको पालना गर्नुपर्नेमा जोड दिँदै आएको छ । सीमा विवाद कायम रहे पनि चीनसँग भारतको व्यापार भने बढेको बढ्यै छ ।
सस्तो सामानका लागि चीनमाथि भारत निर्भर छ । सन् २०२१ मा चीनसँग भारतको व्यापार १२५ अर्ब अमेरिकी डलरको थियो । त्यसमा ९४.५७ अर्ब डलरको सामान भारतले चीनबाट आयात गरेको छ । जब की २८.१ अर्ब डलरको सामान मात्रै चीनमा निर्यात गरेको छ ।
त्यसभन्दा अघिल्लो वर्ष दुई देशबीच भएको ८६ अर्ब डलरको व्यापारमा भारतले ६५ अर्ब डलरको आयात मात्रै थियो । २०२२ मा दुई देशबीचको १३६ अर्ब डलरको व्यापार भएको थियो ।
उक्त वर्ष चीनसँग भारतको व्यापार घाटा एकसय अर्ब डलर नाघेको थियो । लद्दाखको सीमा क्षेत्रमा भिडन्त हुनुपूर्व २०२०–२१ मा चीनसँग भारतको व्यापार घाटा ४४.३३ अर्ब डलर थियो । स्राेत : विभीन्न