२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेवार समुदाय  : गुँला पर्व सुरु

बिहिवार , श्रावण ३२, २०८०


काठमाडौँ,  साउन । नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना मनाउने गुँला पर्व आजदेखि सुरु भएको छ ।

यो पर्व काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा विशेषरूपमा मनाइन्छ । मानव जीवनलाई राम्रो गर्ने नियमलाई पालना गरेर धर्म, कर्मका लागि यो पर्व मनाइन्छ । 

नेपाल संवत्अनुसार दशौँ महिनालाई गुँला भनिन्छ । गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरुको उपकार गर्ने कामलाई जनाउँछ । यस पर्वका अवसरमा जुन नियमले जीवनलाई राम्रो गर्छ, त्यसलाई पालना गरिन्छ ।

पञ्चशीलमा तीन शील थपेपछि अष्टशील हुन्छ । अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने र समयमै भोजन गर्ने यसलाई समेत थपेर अष्टशील भनिन्छ । 

यसमा दुई कुरा थपेपछि दशशील हुन्छ । आभूषण ग्रहण नगर्ने र ब्रह्मचार्यलगायतका नियम पालना गर्नुलाई दशशील भनिन्छ ।  

यो महिनामा क्षमताअनुसार भित्री मनदेखि दान दिने गरिन्छ । यो महिनाभर स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्ने गर्छ । मेलाका लागि आज बिहानैदेखि भक्तजन स्वयम्भू मन्दिर पुगेका थिए । 

राजधानी सहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजनको प्रत्येक वर्ष यो महिनामा भीड लाग्छ । वर्षभर निधन भएका व्यक्तिको नामबाट शृङ्गभेदी अर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन धेरै हुन्छन् ।

काठमाडौँ महानगरपालिका वडा नं ७ चावहिलका स्थानीय राजेन्द्र डङ्गोल धिमे बाजा, बाँसुरी, पछिमा (ढोलकजस्तै बाजा) बजाएर मन्दिर घुमी गुँला पर्व मनाउने गरिएको सुनाउनुहुन्छ । चावहिलमा चन्द्रविनायक पर्खालभित्रबाट घुम्ने गरिन्छ । 

झरीले रोगव्याधलगायतको आक्रमण गर्ने भएकाले मन्दिर घुमी प्रार्थना गर्दा शरीर स्वस्थ हुने गरेको उहाँको अनुभव छ । यो पर्वका अवसरमा मनाइने केपु बाजाको पूजा आराधना गर्ने परम्परा भने पछिल्लो समय जनशक्ति अभावले लोप हुन थालेको छ ।

चावहिल क्षेत्रमा घर–घरमा गरिने यो परम्परालाई हाल यहाँको नाट्येश्वरमा बाजा पूजा गरी निरन्तरता दिइएको छ । 

चावहिलबाट पनि विगत वर्षमा महिनाभरमा एक दिन भए पनि फुर्सद मिलाएर विभिन्न थरि बाजा बजाउँदै स्वयम्भू घुम्न जाने गरिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार