काठमाडौँ, साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री दाहालले आर्थिक वर्ष २०८०/८१ का लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।
मन्त्री र कर्मचारीको मासिक रिपोर्ट कार्डको आधारमा पुरस्कार र कारबाही हुने प्रधानमन्त्री दाहालले बताए ।सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा पनि भएको छ ।
त्यसपछि प्रधानमन्त्रीले आफ्नो कार्ययोजनामा उल्लेख भएअनुसारको लक्ष्य हासिल गर्ने मन्त्री, सचिव र विभागीय वा आयोजना प्रमुखलाई पुरस्कृत गरिने र नगर्नेलाई जिम्मेवारी फेरबहदल गर्ने वा कारबाही गरिने जानकारी दिए ।
त्यस्तै उनले समाजका सबै क्षेत्रमा सकारात्मक भाष्य र सरकारप्रतिको भरोसा बढेर गएको भन्दै जनताले सुशासनको प्रत्याभूति गर्ने अवस्था सिर्जना भएको बताएका हुन् ।
प्रधानमन्त्री दाहालले भने, 'मन्त्री, सचिव र आयोजना प्रमुखले आफू मातहतका आयोजना तोकिएको समयमा सम्पन्न गर्न र प्रभावकारी कार्यान्वयनमा पूर्ण उत्तरदायित्व वहन गर्दै नतिजा हासिल हुनेगरी कार्यसम्पादन गर्न निर्देशित गर्दछु ।'
मन्त्री, सचिव र आयोजना प्रमुखहरूलाई मूल्यांकनको आधारमा मासिक रूपमा गरिने र त्यसको गुणात्मक प्रगतिसहितको मासिक रिपोर्टकार्ड तयार गरिने प्रधानमन्त्री दाहालको भनाइ थियो ।
आफूले आयोजनामा देखिएका समस्या फुकाउन नसके प्रधानमन्त्री कार्यालय आउन भन्दै दाहालले ती समस्या समाधान गर्न आफू तयार रहेको कुरा आश्वस्त पारे ।
निर्णयमा जोखिम हुन्छ भनेर झुलाउने काम नगर्न पनि प्रधानमन्त्री दाहालले कर्मचारीहरूलाई निर्देशन दिए । राम्रो काम गर्ने कर्मचारीलाई सरकारले साथ दिने उनको भनाइ थियो ।
विकासका काममा बाधा पुर्याएमा कारबाही गरिने पनि उनको भनाइ थियो । विकास निर्माणका योजना कार्यान्वयन र निर्णयमा झुलाउने काम गर्दा झन् जोखिम हुने उनको भनाइ थियो ।
प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।