२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली संस्कृति र परम्परा

तीज आउन डेढ महिना बाँकी  : " तीज गीतले पर्वमय माहोलको छनक "

छाउन थाले युट्युबमा 

शनिवार , श्रावण २०, २०८०

गण्डकी, साउन । मलमासले धकेलिएर तीज असोजमा पुगेको छ । युट्युबमा छाइरहेका तीज गीतले भने तीज पर्व दैलोमा आएको आभाष दिलाउँछ । तीज आउन अझै डेढ महिना बाँकी छ तर तीज गीतले युट्युबमा प्रवेश पाएको भने गत असारदेखि नै हो । 

अनेक विषय, भाव र बान्कीका तीज गीतले पर्वमय माहोलको छनक दिएका छन् । अधिक गीतमा प्रेम र सौन्दर्यको चर्चा छ । कतै श्रीमान–श्रीमती त कहीँ प्रेमी(प्रेमिकाबीचको मायावी संवाद गीतमा सुन्न पाइन्छ । यस्तै एउटा गीतमा श्रीमान र श्रीमतिको संवाद समावेश छ । 

श्रीमान भन्छन्– ‘चौधरी हैन,

अम्बानी हैन तैपनि

मनमा पिर चिन्ता छैन

हे नाच्ने हो गाउने हो

कमाउने नि हो,

रमाउने नि हो !!! ’

श्रीमती जवाफ फर्काउँछिन्–

‘थिएन हिजो लाइएन राम्रो

आज त छुट्टै इज्जत छ हाम्रो

हे नाच्ने गाउने हो

कमाउने नि हो,

रमाउने नि हो !!! ’

गत असार २७ मा सार्वजनिक गायक खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीद्वारा स्वरबद्ध तीज गीत ‘कमाउने नि हो, रमाउने नि हो’ले हालसम्म युट्युवमा ६९ लाख बढी ‘भ्युज’ पाएको छ ।

‘शुभारम्भ डिजिटल म्युजिक’ युट्युव च्यानलबाट सार्वजनिक उक्त गीतमाथि दुई हजार पाँच सय बढीले टिप्पणी गरेका छन् । नेत्र अर्यालको शब्द रहेको उक्त गीतमा गायक सेञ्चुरीले नै सङ्गीत दिएका छन । 

गीतको ‘म्युजिक भिडियो’मा कलाकार प्रकाश सपुत र जुना विश्वकर्माको अभिनय देख्न सकिन्छ । गीत चर्चित गायक÷सर्जक पशुपति शर्माको गीत ‘झुक्याउन पाइँदैन’को म्युजिक भिडियो एकै दिनमा एक लाख ५० हजारभन्दा बढी पटक हेरिएको छ । 

बिहीबार सार्वजनिक उक्त गीतमा गायक शर्मा र गायिका निशा केसीको स्वर छ । शब्द र सङ्गीत शर्मा आफैँले दिनुभएको छ । गीतको अभियन र नृत्यमा शर्मालाई कलाकार अञ्जली अधिकारीले साथ दिएकी छन ।  

गीतमा प्रेमी गुनासो गर्छन्–

‘मुटु माग्यो मुटु दिएँ

कलेजी माग्यो कलेजी दिएँ

हे तर खुसी हुँदिनौँ कि

माया अन्तै छ र चाहिँदैन

मलाई नक्कली माया चाहिँदैन

हो भने हो भन नत्र झक्काउन पाइँदैन’

प्रेमिकाले भन्छिन्–

‘बाबाआमा टाढा भए

जेजे भन्यौँ त्यैत्यै सहेँ

हे तर खुसी हुँदैनौँ कि माया

अन्तै छ र चाहिँदैन

मलाई नक्कली मायाँ चाहिँदैन

हो भने हो भन

नत्र झक्काउन पाइँदैन’

मन छुने भाका, शब्द र सुरिलो गायकीले तीज गीतलाई सरल र श्रतिमय बनाएको पाइन्छ । 

लोकगायक विष्णु खत्रीले पनि बिहीबार नै तीज गीत सार्वजनिक गरेका छन । उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीत ‘तीज आयो’ ले हालसम्म ६५ हजार बढी ‘भ्युज’ बटुलेको छ । खत्रीको गीतमा पनि श्रीमान–श्रीमतीबीचको गन्थन छ । 

श्रीमती– ‘असाध्यै राम्री

देखिन्छेस् भन्छन् साडीमा

मलाई त निस्कन मन लाग्दैन

कतै साडी नै नलाई त तीज

आयो तीज यसपालि मलाई

फूलबुट्टे साडी किन्दिउन है प्लिज ! ’

श्रीमान् – ‘पहिरनले पनि नारीलाई

झनै सुन्दर बनाउँछ

तिमीले लाउने लुगाले

मेरो स्तर जनाउँछ

तीज आयो तीज कुन चाहिँ साडी

किन्दिउँ त तिम्लाई

हङकङ कि जापनिज

यी त प्रतिनिधि तीज गीत हुन् । 

तीज पर्व नजिकिँदै जाँदा दैनिकजसो युट्युबाट तीज गीत सार्वजनिक भइरहेका छन् । तीजको याम सुरु भएपछि कलाकारले अरू विधाका गीतलाई थाती राख्छन् । तीज गीतले सधैँ चलिरहने लोकदोहोरीलाई पनि ओझेलमा पारिदिन्छ । 

बर्सेनि तीज आउँदा यस्ता गीत निकाल्ने लहरै चल्छ । पर्व गीतको उपमा पाएको तीज गीतलाई कलाकारले त्यसको मूल प्रवृत्तिबाट विमुख पारेको भन्दै चिन्ता पनि व्यक्त हुँदै आएको छ । 

पहिलेका तीज गीत घटनाप्रद, युग सुहाउँदो, चेतना जागृत गर्ने र समसामयिक विषयवस्तुमा केन्द्रित हुन्थे । खासगरी महिलाले तीज गीतलाई वर्षभरिका दुःख, पीरवेदना र चोट सार्वजनिक गर्ने माध्यम बनाउँथे । 

महिला मुक्तिको आवाज पनि तीज गीतमा उठ्थ्यो । अहिलेका तीज गीतमा भने मायाप्रेमको मुद्दा बढी मुखरित भएको पाइन्छ । विपरीत लिङ्गीबीचको संवेदना, प्रेम र रोमान्सलाई समेत तीज गीतमा उठान गरिएको पाइन्छ । 

तीज गीतमा पनि पुरुष कलाकारकै वर्चस्व देखिन थालेको छ । तीज गीतको सौन्दर्य नासिँदै गएकामा कला मर्मज्ञ पनि चिन्तित छन् । 

कलाकार भने आधुनिक समाज विकाससँगै मानवीय अभिरुचि र प्रविधिमा आएको फड्कोलाई स्वीकारेर अगाडि बढ्नुको विकल्प नभएको टिप्पणी गर्छन् । 

क्यासेट र सिडीको जमना गएपछि कलाकार अहिले युट्युबकै भरमा छन् । ‘भ्युज’, ‘लाइक’ र ‘कमेन्ट’का आधारमा सर्जक÷कलाकारलाई युट्युबले पैसा दिन्छ ।  रासस

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार