२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

हाम्रा -गाउँघर 

बिद्यार्थीको पीडा : " कक्षा कोठा पानीले जलमग्न, कहाँ गएर पढ्ने ? "

बिहिवार , श्रावण १८, २०८०

कञ्चनपुर, साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठन पाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् । 

केही साताअघि आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाता उढाएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताए । 

“जस्ता पाता पूरै उढाएको छ, स्थानीय तहलाई जस्तापाताका लागि भनेका छौँ तर केही सुनुवाइ भएको छैन”, उनले भने, “विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने समस्या छ ।” 

कोरोनाका समयमा निर्माण सुरु गरिएको दुई कोठे भवन हालसम्म सम्पन्न नभएको बताउँदै विष्टले विद्यार्थीलाई निर्माणाधीन उक्त  भवनमा बसालेर पठनपाठन गराइरहेको जानकारी दिए ।  

उनका अनुसार भवनमा सिलिङ हालिएको छ भने प्लास्टर लगायतको काम बाँकी छ । 

“न ढोका छ, न झ्याल, पानी आउँदा सबैभित्र आउँछ, किताब कापी सबै भिज्छ”, कक्षा ६ मा अध्ययनरत सन्दीप भट्टले भने, “भुइँमा पनि ठूलाठूला ढुङ्गा मात्रै छन्, हामीलाई बस्नलाई निकै समस्या छ ।” 

हावाले उढाएको जस्ता फेर्न स्थानीय तहले आनाकानी गरेपछि स्थानीय बासिन्दा जुटेर विद्यालयको छाना निर्माण गर्न थालेका छन् ।

पठन पाठनमा निकै समस्या हुँदा पनि स्थानीय सरकारले चासो नदेखाएपछि श्रमदानमा विद्यालयको छाना निर्माण गर्ने काम भइरहेको प्रधानाध्यापक विष्टले बताए ।  

विद्यालय नजिकै खोला र राष्ट्रिय निकुञ्ज भएको जानकारी दिँदै उहाँले यसरी अव्यवस्थित तरिकाले पठनपाठन गराउँदा दुर्घटनाको जोखिम बढेको बताए । 

उनका अनुसार वर्षात्का समयमा खोलामा पानीको बहाव बढेर विद्यालयका कक्षाकोठा पस्ने गरेको छ ।

“खोलाको पानी कक्षाभित्र आएर कोठा जलमग्न हुन्छ, हामी कहाँ बसेर पढ्ने ?” विद्यार्थी वर्षा ओडले भनिन्, े, “विद्यालयको पर्खाल नहुँदा ससाना विद्यार्थी खेल्दा खेल्दै खोलामा खस्ने डर छ ।” 

नजिकै राष्ट्रिय निकुञ्ज हुनाले वन्यजन्तु पनि विद्यालय परिसरमा भित्रिन सक्ने सम्भावना रहेकाले पर्खाल निर्माण गर्नु आवश्यक रहेको प्रधानाध्यापक विष्टले बताए । 

 “विद्यालयमा शिक्षक पनि कम छौँ, ससाना विद्यार्थी नजिक रहेको खोलामा खसेर डुब्ने जोखिम छ”, उनले भने, “खोलाको पानी कक्षामा पसेर पढाइ प्रभावित हुने गरेको छ ।” 
(((

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार