२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कलङ्की–बसुन्धारा खण्ड चक्रपथ 

दोस्रो खण्ड  : "  पहिलोभन्दा फरक डिजाइनमा बन्दैछ चक्रपथ "

बिहिवार , श्रावण ११, २०८०

काठमाडौँ, साउन । चक्रपथ बिस्तार अन्तर्गत दोस्रो चरणमा निर्माण हुने भनिएको कलङ्की–बसुन्धारा सडक खण्ड पहिलेको तुलनामा फरक डिजाइनमा निर्माण हुनेभएको छ । 

चक्रपथ बिस्तारको पहिलो चरणमा निर्माण भएको कोटेश्वर–कलङ्की खण्डमा भएको लेन, पानी जाने व्यवस्था मिलाउने ड्रेन, डिभाइडर, अण्डरपास र ओभरपासको सङ्ख्यालगायत फरक किशिमको हुने सडक विभागको भनाइ छ । 

सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा विजय जैसीका अनुसार पहिले मुख्य सडकको बीचमा डिभाइडर नभएकामा अहिले बीचमा डिभाइडर राख्न लागिएको छ ।

पहिलो खण्डमा मुख्य लेन र सहायक लेनको बीचमा मात्रै डिभाइडर रहेको थियो ।  उनले भने, “मुख्य सडकको बीचमा हुने डिभाइडरले नै दुबैतर्फको सडक छुट्टाउनेछ ।”

पहिले बीचको चार लेनमध्ये दुई लेनबाट आउने, दुई लेनबाट जाने छेउछेउको लेनबाट पनि एकातर्फबाट आउने अर्कोतर्फबाट जाने थियो । यो खण्डमा मुख्य लेन र सहायक लेनभन्दा पनि मुख्य सडकको बीचबाट दुईतर्फको लेन छट्टिनेछ । 

सडकमा पानी जम्न नदिनका लागि विशेष खालको लामो ड्रेन राख्न लागिएको प्रमुख डा जैसीले बताए । चक्रपथको पहिलो खण्डमा ठाउँ-ठाउँमा पानी जम्ने समस्या भएकामा त्यो समाधान गर्न लागिएको विभागले जनाएको छ । 

विभागले दुई/तीन ठाउँका चोकमा ‘अण्डरपास’ र ‘ओभरपास’ लगायत संरचना निर्माणका लागि पहल गरेको छ । चोकमा हुने सडकको चाप व्यवस्थापन गर्न  यी संरचनाका लागि अनुरोध गरिएको उनले बताए । 

प्रमुख डा जैसीले  भने,“त्यो अनुरोध उनीहरुले मौखिक रुपमा स्वीकार गरेका छन् । के हुन्छ भन्ने विस्तृत डिजाइन आएपछि थाहा हुन्छ ।”

सन् २०१८ मा ऋण स्वीकार गर्दा नै एउटा खाका बनेको थियो । त्यो बेला अण्डपास निर्माण गर्ने कुरा उल्लेख थिएन । पहिले नभएको नक्सा परिवर्तन गर्न गाहे हुने उल्लेख गर्दै  उनले भने, “भौतिक पूर्वाधारमन्त्री आफैँले पनि कोसिस गर्ने भनेका छन । ” 


चक्रपथको पहिलो खण्डमा चिनियाँ कम्पनीले तीनवटा मात्रै आकाशे पुल बनाएको थियो । त्यो मात्रै पर्याप्त नभएकाले सरकार आफैँले थप छ स्थानमा आकाशे पुल निर्माण गरेको थियो । 

यो खण्डमा भने यात्रुले सडक पार गर्न के बनाउने भनी अध्ययन गरेर तय गरिने चिनिँया पक्षको योजना रहेको प्रमुख डा जैसीले  जानकारी दिए  । उनले भने, “ट्राफिक सर्वेक्षण अनुसार कहाँबाट मानिस हिँड्छन् भन्ने हेरेर गरिनेछ ।”

पहिलो चरणको सडक हस्तान्तरण हुनु पहिले नै चिनियाँ पक्षले कलङ्कीदेखि अगाडिसम्मको सडक निर्माण गर्न इच्छा देखाएको थियो । 

सडक निर्माणका क्रममा काम गर्ने स्थान खाली गरिदिनुपर्ने भए पनि निर्माणका क्रममा विभिन्न अवरोध आएकाले निर्धारित समयभन्दा केही ढिला सम्पन्न भएको थियो ।
  
पाइपलाइन, विद्युतका खम्बा, सडक छेउका घरटहरा, सडकमा बिच्छ्याइएका मेलम्ची र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइप समय–समयमा फुट्दा काममा ढिलाइ भइरहेको थियो ।

 चिनिँया पक्षले सडक हस्तान्तरण गर्दासमेत नेपाल सरकारले निर्माण गर्ने भनिएको छेउको लेनमा घरटहरा हट्न सकेको थिएन । सोही अनुभवका आधारमा अहिले पहिले नै निर्माणस्थल खाली गरेर मात्रै निर्माण सुरु गरिएको विभागले बताउँदै आएको छ । 

कोटेश्वर–कलङ्की सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन छन् । चिनियाँ सरकारले आठ लेन सडक निर्माण गरेको थियो । 

सरकारले मुख्य सडकभन्दा बाहिरपट्टी दुबैतर्फ सर्भिस ट्याक निर्माण गर्दा यो सडक १० लेनको बनेको थियो । 

चक्रपथको पहिलो खण्ड ललितपुर र काठमाडौँ गरी दुबै जिल्लामा परेको थियो । दोस्रो खण्ड भने काठमाडौँमा मात्रै रहेको छ । 

चिनिँया पक्षसँग पहिले चावहिल धोबीखोलासम्म सडक विस्तार गर्ने गरी छलफल भएको थियो । स्वयम्भु, महाराजगञ्जलगायत स्थानमा निर्माणस्थल खाली गराउँदा बिभिन्न अवरोध आएपछि कलङ्कीबाट बसुन्धारासम्म सडक विस्तार गर्न लागिएको हो । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार