चितवन, साउन । गत आर्थिक वर्ष २०७९/०८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् । ती मध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच÷पाँच र हात्तीको आक्रमणबाट दुई जना रहेका छन् ।
मृतकका परिवारहरुलाई जनही रु १० लाखका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जङ्गली जनावरको आक्रमणका कारण गम्भीर घाइते भएका ३१ र सामान्य घाइते भएका २७ जना छन् ।
गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्चस्वरुप रु ३२ लाख ८० हजार १७ प्रदान गरिएको छ भने सामान्य घाइते भएका २७ जनाको परिवारलाई रु चार लाख २७ हजार १२८ उपचार खर्चबापत प्रदान गरिएको उनले जानकारी दिए ।
हात्तीको आक्रमणबाट १७, गैँडाको आक्रमणबाट २१ , बाघको आक्रमणबाट सात, भालुको आक्रमणबाट सात , जङ्गली बदेलको आक्रमणबाट छ जना घाइते भएको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिएका छन ।
यस्तै जङ्गली जनावरका कारण २३४ पशुधन क्षति भएको निकुञ्जको तथ्याङ्कले देखाएको छ । यसको राहत स्वरुप रु ३१ लाख ३८ हजार चारसय प्रदान गरिएको छ ।
भण्डारण गरी राखिएको अन्न बालीमा समेत क्षति पुगेको छ । यसबापत रु ५१ हजार राहत रकम भुक्तानी गरिएको छ ।
यस्तै सोही समयमा २७ वटा घरगोठमा जनावरले क्षति गरेको उहाँले जानकारी दिए । जसको क्षतिबापत रु दुई लाख ३४ हजार नौ सय भुक्तानी गरिएको छ ।
यस्तै अन्नबालीमा क्षति ५१७ पटक गरेको पाइएको छ । जसको राहतस्वरुप निकुञ्जले रु ३९ लाख ५८ हजार ६२५ भुक्तानी गरेको छ ।
निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार गत आवमा निकुञ्जका जनावरका कारण ८५६ घटना भएका छन् । यसको राहतस्वरुप निकुञ्जले रु दुई करोड ३० लाख ९० हजार ६९ राहत रकम स्थानीयलाई बुझाएको छ ।रासस