२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

हाम्रा  - गाउँघर

‘ हिमालको ऐना ’ - माेहक बराह ताल  :  " नेपालको नक्सा जस्तै ! "

'हिमालको वरिपरि लुकामारी खेलिरहने बादलको घुम्टोले अझै सुन्दरता थपिदिन्छ '

शनिवार , श्रावण ६, २०८०

शिरानमा घना जङ्गल । पूर्वतर्फ मोहोडा गरेको सुन्दर समथर फाँट । जताततै हरियाली नै हरियाली । गुजुल्टो परेको बस्ती । बस्तीको माथिल्लो र जङ्गलको तल्लोपट्टि उत्तर–पश्चिम लमतन्न फैलिएको नेपालको नक्सा आकारको निस्कोट बराह ताल ।

म्याग्दीको मालिका गाउँपालिका–१ मा पर्ने निस्कोट गाउँको शिरानमा रहेको बराहताल अलि टाढाबाट हेर्दा नेपालको नक्सा जस्तै देखिन्छ । यो तालमा धौलागिरि  हिमालको प्रतिविम्ब स्पष्टसँग देखिने हुनाले यस ताललाई ‘हिमालको ऐना’ पनि भनेर चिनिन्छ ।

निस्कोट सामुदायिक वनको पुछारमा रहेको यो ताल उत्तरपश्चिम भएर फैलिएको छ । क्षितिजमा धौलागिरि हिमाल देखिन्छ भने सोही हिमालको प्रतिविम्ब तालमा देख्दा यहाँ पुग्ने आन्तरिक पर्यटक छक्कै पर्ने मालिका –१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताउनुभयो ।

उहाँका अनुसार गाउँको शिरानमा र जङ्गलको पुछारमा रहेको यो ताल कहिल्यै पनि फोहर हुँदैन । यहाँ जङ्गलका पात पतिङ्गर परिहाले भने पनि पन्छी (चरा) हरुले चुच्चोले टिपेर बाहिर फ्याक्ने गर्दछन् ।

निस्कोट गाउँमा पुगेपछि घना वनजङ्गलको बीच भाग र केही मानव बस्ती रहेको ठाउँमा बराहतालको लोभलाग्दो दृश्य हेर्न पाइन्छ । समुद्री सतहदेखि दुई हजार तीनसय मिटरको उचाइमा अवस्थित बराहताल र तालको आसपासबाट मनोरम हिमशृङ्खला देखिन्छन् । 

बराहताल क्षेत्रबाट संसारको सातौँ तथा नेपालको दोस्रो अग्लो चुचुरो धौलागिरि हिमालको साथै गुर्जा, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे«, मानापाथीलगायतका आधा दर्जनभन्दा बढी हिमाल र मनोरम दृष्यको प्रत्यक्षरुपमा अवलोकन गर्न सकिने वडाध्यक्ष पुनले बताउनुभयो । बराहतालमा वन जङ्गल र हिमालसमेत आकर्षकरुपमा देखिने निस्कोटका स्थानीय रमेश पुनले बताउनुभयो ।
  
रोमाञ्चक भू–बनोट, हरियाली र विविधताले युक्त सुन्दर गाउँ, मनमोहक प्रकृति र यही प्रकृतिको सेरोफेरोमा रहेको चित्ताकर्षक बराहतालले अहिले पर्यटकलाई पर्खिरहेको छ ।  पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको र मौसम खुलेको समयमा आँखै अगाडि सेताम्मे हिमालको लर्कन देखिने निस्कोटको बराह तालमा थोरै पर्यटक पुग्छन् । 

भौगोलिक रुपमा विकट र प्रचार प्रसारको अभावमा थोरै पर्यटक पुगे पनि यहाँ पुग्ने पर्यटक मज्जाले रमाउने गर्दछन् । झण्डै दुई रोपनीको क्षेत्रफलमा फैलिएको बराहतालको आवश्यक संरक्षण, प्रचार प्रसार तथा प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको स्थानीय वासी बताउँछन् । 

हिमालको वरिपरि लुकामारी खेलिरहने बादलको घुम्टोले अझै सुन्दरता थपिदिन्छ । पहाड र आकाश जोडिएको क्षितिजमा पर्ने हिमाल अनि तालमा देखिने हिमालको दृष्यले त्यहाँ पुग्नेलाई अचम्मित बनाउँछ ।

निस्कोट गाउँमा पुग्ने जो कोही पनि बराहतालको अवलोकन गर्न तथा ताललाई पृष्ठभूमिमा पारेर फोटो र सेल्फी खिच्न भनेर त्यहाँ जाने गरेका छन् । निस्कोट गाउँबाट आधा घण्टाको दूरीमा पर्ने बराहताल स्थानीयका अनुसार झण्डै २० फिट गहिरो रहेको अनुमान गरिएको छ ।

निस्कोट मालिका गाउँपालिकाको दक्षिण भागमा पर्दछ । कूल १७ दशमलव तीन वर्गकिमीमा फैलिएको निस्कोटमा जम्मा एक हजार ९९४ जनसङ्ख्या रहेको छ । जसमध्ये महिला एक हजार २६ र पुरुष ९६८ रहेका छन् ।

यो वडा मङ्गला गाउँपालिका र बागलुङ जिल्लासँग जोडिएको छ । निस्कोटमा मकै, कोदो, गहुँ, जौ, बाली हुन्छ । साउन महिनामा निस्कोटमा रहेको बराहतालको दृृष्य निकै नै रमणीय देखिने स्थानीय वुद्ध विकले बताउनुभयो । रासस 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार