२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सरुवा रोग नियन्त्रण महाशाखा भन्छ 

डेङ्गु सङ्क्रमण ह्वातै बढ्यो  : " १० जिल्लामा बढी सङ्क्रमण "

कोशी प्रदेशमा सङ्क्रमण बढे

मंगलवार , श्रावण २, २०८०

काठमाडौँ, साउन । पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो । 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता सङ्क्रमण बढेको बताएका छन ।  

उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन । सोही कारण सङ्क्रमण दैनिक बढिरहेको छ । 

पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर सङक्रमण दिनानुदिन बढिरहेको निर्देशक मरासिनीले जानकारी दिएका छन ।  

डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुल लार्भा बन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्छ र डेङ्गु सङ्क्रमण हुन्छ । 

एक हप्तामा बीचमा एक हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन् । 

महाशाखाका अनुसार यही असार २७ गते एकहजार ३३७ सङ्क्रमण भएकोमा साउन १ गतेसम्म आइपुग्दा सङ्ख्या बढेर दुई हजार ९३० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । 

यसपटक कोशी प्रदेशमा सङ्क्रमण बढेको पाइएको छ । कोशी प्रदेशमा एक हजार ७४६, बागमती प्रदेशमा  ४६८, सुदूरपश्चिम प्रदेशमा  २७९, गण्डकी प्रदेशमा  २६९, लुम्बिनी प्रदेशमा एक सय १३४, कर्णाली प्रदेशमा १८ जना र मधेस प्रदेशमा १६ जनामा सङ्क्रमण देखिएको छ ।  

१० जिल्लामा बढी सङ्क्रमण                                                                                                                                                                                                                                                                                                          नयाँ देखिएका बिरामीमध्ये ८२ प्रतिशत बिरामी १० जिल्लाका रहेका छन् । सबभन्दा बढी सुनसरी जिल्लामा एक हजार ५७१, धादिङ २५६, दार्चुला  १८८, कास्की १४९, सङ्खुवासभा ५८, काठमाडौँमा ४६, कन्चनपुर ३९, भक्तपुर ३५, म्याग्दी ३५ र झापा ३२ जनामा डेङ्गुका बिरामी भेटिएका छन् ।

नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा  काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । 

सम्भव भएसम्म लामखुट्टे भगाउने घुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपंक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने आग्रह गरेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार